
(अपडेट) चितवन, असोज ९ । पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे सवार जीप चितवनको त्रिशुली नदीमा खस्दा तीनजनाको मृत्यु भएको छ ।
पूर्व मन्त्री घिमिरे सवार बा९च १५३१ नम्बरको जीप आइतबार अपरान्ह चितवनको दारेचोक गाविस–४ को घोप्टेभिरस्थित त्रिशुली नदीमा खसेको हो । दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर काठमाडौंतर्फ रहेको छ ।
दुर्घटनामा परि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।
मृत्यु हुनेमा पूर्वमन्त्री घिमिरेकी आमा चैत्यन्य कुमारी घिमिरे, आफन्त नारायणप्रसाद काफ्ले र पूर्व मन्त्री घिमिरेका अंगरक्षक सशस्त्र प्रहरीका सई रामचन्द्र कार्की रहेका छन् ।
यस्तै चालक विष्णु राईको भने जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा पूर्व मन्त्री घिमिरेसहित मोहन घिमिरे, प्रकाश घिमिरे र अर्का एक नाम नखुलेका सशस्त्र प्रहरीका एकसहित ४ जना त्रिशुलीमै अझै बेपत्ता रहेको सशस्त्र प्रहरी बल कुरिनटारका एसपी गणेशबहादुर थापाले जानकारी दिए ।
बेपत्ताहरुको अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ । पूर्वमन्त्री घिमिरे मुक्तिनाथको यात्राबाट सपरिवार फर्किदै गरेका थिए ।
यसअघिको समाचार
पूर्वमन्त्री सवार कार दुर्घटनामा तीनजनाको मृत्यु, तीनजना बेपत्ता, चालक घाइते
चितवन, असोज ९ । पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित सातजना चढेको गाडी आइतबार दिउँसो ४ बजे पृथ्वीराजमार्गको दाह्रेचोक गाविस–३, घोप्टेभिरबाट त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घिमिरेसहित तीनजना बेपत्ता भएका छन् । चालक विष्णु राई घाइते छन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार मृत्यु हुनेमा घिमिरेकी आमा, आफन्त रामचन्द्र कार्की र सुरक्षागार्ड सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक नारायण काफ्ले रहेका छन् ।
उनका अनुसार घिमिरेसहित तीनजना बेपत्ता भएका छन् ।
मुक्तिनाथबाट पोखरा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा ९ च १५३१ नम्बरको स्करपियो गाडी दुर्घटनामा परेको हो । घाइतेलाई उपचारका लागि भरतपुरतर्फ पठाइएको छ भने घटनास्थलमा बेपत्ताको खोजी कार्य जारी रहेको प्रजिअ सिंहले बताए । (रासस)
अघिल्लो समाचार…
पूर्व गृहमन्त्री घिमिरे सवार कार त्रिशुलीमा खस्यो, अवस्था अज्ञात
काठमाडौं, असोज ९ । पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे सवार मोटर त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ ।
दुर्घटनामा पूर्वमन्त्री घिमिरेसहित पाँच जना बेपत्ता भएका छन् । मुग्लिनबाट काठमाडौं जाँदै गरेको कार आइतबार दिउँसो करिब ४ बजेतिर घोप्टेभीरस्थित सडकबाट त्रिशुली नदीमा खसेको हो ।
चितवन प्रहरीले घटनाको पुष्टि गरेको छ । कारमा पूर्वमन्त्री घिमिरेसहित उनका परिवार सवार रहेको बताइन्छ ।
दुर्घटनामा पूर्व मन्त्री घिमिरेसहित तीन जनाको अवस्था अज्ञात रहेको बताइएको छ । चारजनालाई भने उद्धार गरिएको स्थानीय स्रोतले जनाएको छ । ती चार जनाको अवस्थाबारे प्रष्ट हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्