
चितवन, असोज ९ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा चितवन जिल्ला अदालतमा आइतबारदेखि सुनुवाई सुरु भएको छ ।
जिल्ला न्यायाधीश टेकनारायण कुवँरको एकल इजलासमा आइतबार वादी र प्रतिवादीको तर्फबाट ९ जनाले बहस गरेका छन् । बहसका लागि नाम टिपोट गराएका २० जनामध्ये आज वादीको तर्फबाट जिल्ला न्यायाधिवक्ता मणीराम न्यौपाने र सहायक जिल्ला न्यायधिवक्ता उदयचन्द्र अधिकारीले बहस गरे ।
यस्तै प्रतिवादीको तर्फबाट अधिवक्ताहरु ओमप्रकाश अर्याल, बाबुराम गिरी, आशिकराम कार्की, इन्द्र अर्याल, गोपालकृष्ण घिमिरे, पुष्पराज पौडेल र काशीराम ढुंगानाले बहस गरेका छन् ।
बाँकी ११ जनाले सोमबार बहस गर्ने जनाइएको छ । प्रमाण बुझ्ने र बकपत्र लिने काम सकिएकोले आइतबार अन्तिम पेशी तोकिएको हो ।
२०६१ जेठ २४ गते तत्कालिन नेकपा माओवादीले कृष्णप्रसाद अधिकारीको रत्ननगरमा हत्या गरेको थियो । उनका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या माओवादीबाट भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए ।
त्यसको एक वर्ष ६ महिनापछि मृतकका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । चितवन जिल्ला अदालतले २०७१ वैशाख ४ गते किटानी जाहेरी भएकामध्ये ८ जनालाई धरौटीमा र तीन जनालाई साधारण तारिखमा छोडेको थियो ।
सो घटनामा संलग्न भनिएका दुई जना अझै सम्पर्कमा आएका छैनन् । छोरा कृष्णप्रसादको हत्यारालाई कारवाही माग गर्दै अनशनरत् रहँदै दुई बर्ष पहिले नन्दप्रसादको निधन भएको थियो । नन्दप्रसादकी पत्नी गंगामाया लामो समयदेखि वीर अस्पतालको शैयाबाटै संघर्ष जारी राखेकी छन् ।
प्रतिक्रिया दिनुहोस्