-दिनेश थापा, ईमेज
सिन्धुपाल्चोक, असोज १० । सिन्धुपाल्चोकका अधिकांश भूकम्प प्रभावितले पहिलो किस्ताको ५० हजार रुपैयाँ अनुदान पाएका छन् ।
भूकम्प गएको एक वर्षवितिसकेपछि मात्र उनीहरुले सरकारले दिने भनिएको ३ लाख रुपैयाँमध्ये ५० हजार रुपैयाँ पाएका हुन् ।
अनुदान रकम वितरण सुरु भएको झन्डै पाँच महिनापछि सिन्धुपाल्चोकका अधिकांश सम्पूर्ण प्रभावितको खातामा पहिलो किस्ताको रकम जम्मा भएको हो ।
सिन्धुपाल्चोकमा दोस्रो पटक गरिएको सर्भेक्षणमा ७८ हजार ५ सय ३७ जना अनुदान पाउन योग्यको सूचीमा परेका थिए ।
केही छुटपुट बाहेक सबै गाविसका प्रभावितको खातामा पहिलो किस्ताबापतको रकम जिविसबाट निकासा भइसकेको स्थानीय विकास अधिकारी कृष्णबहादुर शाही बताउँछन् ।
केही छुटेकाबाहेक ७४ हजार ८ सय ५७ लाभग्राहीको खातामा ३ अर्ब ७४ करोड २८ लाख५० हजार रुपैयाँ निकासा भइसकेको छ । बैंकमा जम्मा भएपछि रकम निकाल्न आउनेहरुको भिड लागेको छ ।
सीमित स्थानमा मात्रै बैंक हुँदा प्रभावितहरु दुई÷तीन दिनदेखि हिँडेर बैंकसम्म आएका छन् । जिल्लाका ६८ गाविस र दुई नागरपालिकामा १६ बैंकका २४ शाखाबाट मात्रै रकम दिने व्यवस्था गरिएपछि आफूहरु समस्यामा परेको प्रभावितहरुको गुनासो छ ।
बैंकहरुमा रकम लिनसमेत समस्या पर्ने गरेको प्रभावितहरुको गुनासो छ । विशेषगरी महिला, वृद्धवृद्धा र अपांगका लागि बैंकमा छुट्टै लाइनको व्यवस्था नहुँदा रकम निकाल्न समस्या परेका उनीहरुको भनाइ छ ।
रकम निकालेपछि भने प्रभावितहरु उत्साहित भएका छन् । नजिकिँदो दसैंको मुखमा रकम पाएपछि उनीहरु रमाइलो गरी चाडपर्व मनाउने बताउँछन् । कोही भने यसअघि लिएको ऋण तिर्ने सोचाइमा छन् ।
७८ हजार ५ सय ३७ लाभग्राही मध्ये १४ हजार ७ सय ८७ महिला छन् । जिल्लामा सबै निकायको समन्वयमा रकम निकासा भइरहेको प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाल बताउँछन् ।
पुनर्निर्माण विशेष सम्र्पक कार्यालय चौताराका प्रमुख भुवनेश्वर लामिछानेले अब सबै प्रभावितले पहिलो किस्ताको रकम लगेपछि घर निर्माण सुरु भए–नभएको अनुगमन गरिने बताए ।
घर बनाउनका लागि भनेर सरकारले दिएको रकम चाडबाडको मुखमै निकाल्दा अनावश्यक रुपमा खर्च हुने सम्भावना पनि बढ्ने देखिएको छ ।
त्यसैगरी सम्बन्धित व्यक्तिले आफ्नो खातामा जम्मा भएको रकम निकाल्न हतार गर्दा बैंकहरुलाई व्यवस्थापन गर्न समेत समस्या परेको छ ।





प्रतिक्रिया दिनुहोस्