Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


कांग्रेसमाथि ओलीले लगाए यस्तो आरोप


0
Shares

                                                     फाइल फोटो

काठमाडौं, असोज १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार परिवर्तनका कारण राजनीतिक संकमणकाल बढेको बताएका छन् ।

एमाले प्रदेश नम्बर–३ को प्रथम बैठकको सोमबार ललितपुरमा उद्घाटन गर्दै उनले संक्रमणकाल बढेकाले राजनीतिक परिवर्तन सरल तरिकाले टुंगोमा पुर्‍याउन जटिल भएको बताए ।

‘संविधान जारी गरेपछि हामी राजनीतिक संक्रमणकालको अन्तिममा थियौं’–पूर्वप्रधानमन्त्री ओलीले भने–‘तर संविधान पूर्णरुपमा कार्यान्वयन नभएकाले राजनीतिक परिवर्तन जटिल मोडमा पुगेको छ । संक्रमणकाल सहज ढंगले जाने स्थिति छैन ।’

उनले कार्यकारी पदमा नभएपनि अहिलेको संक्रमणकाललाई टुंग्याउने जिम्मा एमालेको छ भन्दै आगामी २०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सक्नुपर्ने बताए ।

छिमेकीसँगको नीतिमा केही समस्या आएपनि अन्तर्राष्ट्रिय नीतिमा केही फरक नपरेको उनले जिकिर गरे ।

उनले देश गम्भीर अवस्थामा पुगेपनि नेपाली कांग्रेसले चुप लागेर सत्ताको मुख ताकेको आरोप लगाए ।

‘देशमा अशान्ति छ । तर कांग्रेस एकाग्रह बनेको छ । केही बोल्दैन’–उनले भने–‘कांग्रेसको अर्जुनदृष्टि सत्तामा पुगेको छ । देशकाबारेमा गम्भीर छैन ।’

नेता ओलीले आफूहरु हिमाल, पहाड र तराईका समस्या समाधान गर्न लडेको तरपनि आदिवासी जनजाति र मधेसी विरोधीको आरोप लगाएकामा आक्रोश व्यक्त गर्दै त्यसलाई खन्डन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा एमालेका वरिष्ठ नेता झलनाथ खनालले लोकतान्त्रिक मूल्य–मान्यताका हिसाबले विश्वको अग्रगामी संविधानभित्र नेपालको संविधान पर्ने बताउँदै सबै जातजाति र भाषाभाषीको अधिकार स्थापित गर्ने समाजवादउन्मुख संविधान भएको जिकिर गरे ।

पूर्वप्रधानमन्त्री खनालले संविधान चाँडै घोषणा गर्नुपर्ने भएकाले एमालेले प्रत्यक्ष निर्वाचित कार्यकारीको अडान छाडेको उल्लेख गर्दै तर त्यसलाई पुनःविचार गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।

उनले भने–‘तोकिएको समयमा तीन तहको निर्वाचन गरेर राजनीतिक संक्रमणकाल अन्त्य गर्नुपर्छ ।’

उनले पार्टी गुट र समूहगत भावनाले ग्रस्त भएकाले त्यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिए ।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सार्वभौम, राष्ट्रियता र स्वतन्त्रतामाथि हस्तक्षेप हुने खालका गतिविधि बढेकाले खबरदारी गर्नुपर्ने आवश्यकता औंल्याइन् । रासस

Skip This