
राजु चौधरी (इमेज)
चितवन, असोज १० । आइतबार साँझ त्रिशूली नदीमा दुर्घटनामा परी बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनाको अवस्था अझै पत्ता लागेको छैन ।
सुरक्षाकर्मीहरुले दुर्घटना भएलगत्तै खोजी गरिरहेको भएपनि बेपत्ता व्यक्तिहरुबारे कुनै सुइँकोसमेत पाउन सकिएको छैन ।
आइतबार राति १ बजेसम्म खोजीकार्य जारी राखेका सुरक्षाकर्मीहरुले सोमबार बिहानैदेखि पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे र उनको भाइद्वय मोहन तथा प्रकाश घिमिरेको खोजी गरिरहेका छन् । पूर्वगृहमन्त्री घिमिरेको मोबाइल भने भीरमा फेलापरेको छ ।
तर, नदीमा डुबेको जिपको पनि केही पत्तो लाग्न सकेको छैन । पानीको बहाब पनि बढ्नु र आवश्यक स्रोत र साधन पनि नहुनुले खोजीकार्यमा कठिनाइ भइरहेको बताउँछन्, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका प्रहरी नायव निरीक्षक वीरेन्द्र बम ।
खोजीकार्यमा अहिले शसस्त्र प्रहरीका ४५ जना, नेपाली सेना रसौली ब्यारेकका १५ जना र नेपाल प्रहरीका करिब २० जनाको टोली खटिएका छन् ।
र्याफ्टिङ बोटमार्फत् विभिन्न टोली बनाइ खोजीकार्य भइरहेको छ ।
दुर्घटनास्थलको अवस्थाकोबारेमा भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले सोमबार निरीक्षणसमेत गरे ।
उनले सरकारको तर्फबाट खोजीकार्यमा कुनै कमी आउन नदिने प्रतिबद्धतासमेत जनाए । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्