काठमाडौं, असोज १० । सरकारले जति अनुगमन र कारबाहीको नारा लगाएपनि बजारमा अनियमिता रोकिएको छैन । अझ ठूला मार्टहरुमा नै लापरबाही भैरहेको छ ।
आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार काठमाडौंका बिग मार्ट, सेलवेज र भाटभटेनी सुपरमार्केटमा गरेको अनुगमनमा पनि लापरबाही एवं अनियमितता पाइयो ।
टोलीले लाजिम्पाटस्थित बिग मार्टमा म्याद नाघेका कोल्ड ड्रिंक्स जफत गरी नस्ट गर्यो । उक्त मार्टको फ्रिजमा नै म्याद नाघेका कोल्ड ड्रिंक्स फेलापरेको हो । साथै त्यहाँ राखिएका खान अयोग्य तरकारी पनि टोलीले नस्ट गरेको छ ।
महाराजगन्जस्थित सेलवेजमा पनि टोलीले म्याद नाघेका कोल्ड ड्रिंक्स नस्ट गर्यो । साथै सेलवेजमा पनि बारम्बारको कारबाहीले पनि कुनै प्रभाव नपरेको पाइयो ।
यहाँ योपटक पनि सामानको अधिक मूल्य तोकिएको र म्याद नाघेका सामग्री राखेको पाइयो । टोलीले सन्चालकलाई जायज मूल्य तोक्न र म्याद नाघेका सामाग्री नराख्न सचेत गराएको छ ।
त्यस्तै, महाराजगन्जस्थित भाटभटेनी सुपरमार्केटमा पनि टोलीले अनुगमन गर्दा केही म्याद नाघेका कोल्ड ड्रिंक्स फेलापारी नस्ट गरेको छ ।
साथै त्यहाँ केही सामग्रीको बढी मूल्यका टाँसेको पाइएकोले एकपटकका लागि सचेत गराइएको अनुगमन अधिकृत ढुण्डीराज पोखरेलले बताए ।
चाडपर्वका अवसरमा बजार अनुगमनमा सक्रिय रहने उनले बताए ।





प्रतिक्रिया दिनुहोस्