Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


कृष्णप्रसाद हत्या प्रकरणमा अदालती बहस सकियो, दुबैपक्षलाई लिखित बहस पेस गर्न आदेश


0
Shares

चितवन, असोज ११ । गोरखा, फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणको चितवन जिल्ला अदालतमा बहस सकिएको छ । बहस सकिएपनि मंगलबार फैसला भने भएन ।

अदालतले जाहेरवाला र प्रतिवादी दुबैपक्षलाई लिखित बहस पेस गर्न आदेश दिएको छ ।

लगातार तीन दिनसम्म बहस चलेपछि जिल्ला न्यायाधीश टेकनारायण कुवँरको एकल इजलासले सो आदेश दिएको हो ।

तीन दिनमा एकजना न्यायाधीवक्ता र एकजना सहन्यायाधीवक्तासहित जाहेरवाला र प्रतिवादीतर्फका २३ जना अधिवक्ताले बहस गरेका थिए ।

दुबैपक्षबाट लिखित बहस पेस गरेपछि जिल्ला न्यायाधीशले फैसला सुनाउने छन् ।

२०६१ जेठ २४ गते तत्कालीन नेकपा माओवादीले कृष्णप्रसाद अधिकारीको चितवनको रत्ननगरमा हत्या गरेका थिए ।

सोही आधारमा उनका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या माओवादीबाट भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए ।

त्यसको एक वर्ष ६ महिनापछि मृतकका दाजु नूरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

चितवन जिल्ला अदालतले २०७१ वैशाख ४ गते किटानी जाहेरी भएका मध्ये ८ जनालाई धरौटीमा र तीनजनालाई साधारण तारिखमा छाडेको थियो । सो घटनामा संलग्न भनिएका दुईजना अझै सम्पर्कमा आएका छैनन् ।

कृष्णप्रसादको हत्यारालाई कारबाही माग गरी अनशनरत् रहेकैबेला दुई वर्ष पहिले नन्दप्रसादको निधन भएको थियो भने उनकी पत्नी गंगामाया पनि लामो समयदेखि वीर अस्पतालको शैयाबाटै अनशन गरी न्यायका लागि संघर्ष गरिररहेकी छन् ।