सुर्खेत, चैत २३ । बारा र पर्साका हावाहुरी प्रभावितका लागि राहतस्वरुप कर्णाली प्रदेश सरकारले रु एक करोड उपलब्ध गराउने भएको छ ।
शनिबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्री राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।
प्रदेशसभाका पछिल्ला बैठकमा विपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रदेश नम्बर–२ मा ठूलो विपत्ति आउँदा कर्णाली सरकार मौन बसेको भन्दै सरकारको आलोचना गरेका थिए ।
यसअघि, कांग्रेस संसदीय दलले हावाहुरी प्रभावित परिवारको सहयोगका लागि रु ४२ हजार मुख्यमन्त्री राहत कोषमा जम्मा गरिसकेको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीकाअनुसार बैठकले वीरेन्द्रनगरस्थित प्रदेश अस्पताललाई शिक्षण अभ्याससहितको ३०० शय्याको प्रेषण (रेफरल) अस्पतालकारुपमा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।
हाल ५० शय्याको उक्त अस्पताललाई सामाजिक विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले शिक्षण अस्पतालकारुपमा स्तरोन्नति गर्ने निर्णय गरेको हो । रासस








प्रतिक्रिया दिनुहोस्