११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


चीनको सीमा कोरला नाकामा किन पुगे भारतीय राजदूत ?


0
Shares

                                                       फाइल फोटो

मुस्ताङ, असोज १२ । भारतीय राजदूत रणजित राय ६ दिने मुस्ताङ भ्रमण गरी मंगलबार राजधानी फर्किएका छन् । योक्रममा नेपाल र चीनको सिमाना कोरलानजिक पुगेर उनले त्यहाँको वस्तुस्थितिकोसमेत जानकारी लिएका छन् ।

६ दिने भ्रमणकाक्रममा राजदूत रणजित रायले भारतीय लगानीमा विभिन्न गाविसका निर्माण भएका आधादर्जन आयोजनाको उद्घाटन गरे ।

दूतावासका दुईजना उच्चअधिकारीसहित असोज ६ गते मुस्ताङ ओर्लेका राजदूतले भोलिपल्टै योगेन्द्र उच्च मावि टुकुचेको भवन, कागबेनीमा निर्मित तटबन्ध र मुक्तिनाथस्थित झारकोटमा सामुदायिक भवनको उद्घाटन गरेका थिए ।

यही असोज ८ मा उनले मुक्तिनाथ दर्शन गर्नुका साथै मुक्तिनाथ क्षेत्रमा निर्माण गरिएको धर्मशाला र खानेपानी आयोजनाको औपचारिक उद्घाटन गरे ।

स्थानीयबासी र मुक्तिनाथका पुजारीसँगको छलफलमा राजदूत रायले सरकारले आग्रह गरेको खन्डमा मुक्तिनाथको गुरुयोजनालाई सहयोग गर्न तयार रहेको बताए ।

‘सरकारले यो धामको चौतर्फी विकासका लागि गुरुयोजना तयार पारेको बुझेको छु, हामी त्यसमा सहयोग गर्न प्रतिबद्ध छौं’–उनले भने ।

मुक्तिनाथ क्षेत्र विकास कोष र पुरातत्व विभागले मुक्तिनाथको बृहत्तर विकासका लागि एक अर्ब रुपैयाँभन्दा बढीको गुरुयोजना तयार पारेको छ ।

असोज ९ गते लोमान्थाङ पुगेका राजदूत रायले भारतीय लगानीमा त्यहाँ निर्मित लोमान्थाङ गुम्बा र नाङगेल गुम्बाको अवलोकनसमेत गरेको बताइएको छ ।

सोही दिन राजदूत राय कोरला नाका पुगेका थिए । नेपाल र चीनबीच दीर्घकालसम्म नाका सन्चालन गर्ने बहस चलिरहेकोबेला राजदूतको यो भ्रमणलाई महत्वकासाथ हेरिएको छ ।

लोमान्थाङ भ्रमणकाक्रममा राजदूतसँगको टोलीको जिविस मुस्ताङका इन्जिनियर सकलदेव शर्मा पनि सहभागी थिए । रासस