Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


इलाकालाई स्थानीय तह बनाउने बीचको बाटो खोजियो : उपप्रधानमन्त्री निधि


0
Shares

                                                        फाइल फोटो

काठमाडौं, असोज १२ । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिक सहमति नभइ कुनैपनि निर्वाचन गर्न सकिन्न भने बोध सरकारलाई रहेको बताएका छन् ।

व्यवस्थापिका–संसद राज्य व्यवस्था समितिको बुधबारको बैठकमा उनले भने–‘राजनीतिक सहमति कायम गर्न संविधान संशोधनका लागि गृहकार्य र प्रक्रिया अघि बढाएका छौं ।’

संविधान संशोधनसँगै निर्वाचन कानुनको तयारी तीव्रगतिमा भइरहेको बताउँदै उपप्रधानमन्त्री निधिले निर्वाचन हुन्छ भन्नेमा कसैले शंका नगर्न आग्रह गरे ।

सबै विषय राजनीतिक सहमतिकै आधारमा टुंगोमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै उपप्रधानमन्त्री निधिले भने–‘राजनीतिक दलकाबीचमा संवाद र सहमति गरेर अघि बढ्ने सिलसिलामा बीचको बाटो अपनाएर इलाकालाई स्थानीयकारुपमा राख्ने विषय अघि बढाइएको हो ।’

गृहमन्त्रीले भने–‘हाल कायम रहेका नगरपालिकाको संरचनालाई कायमै राखेर इलाकालाई स्थानीय तहकारुपमा अघि बढाउने सरकारले निर्णय गरेको हो ।’

उनले पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार जिप दुर्घटनामा परेपछि भइरहेको खोजतलास तथा मंगलबार धादिङको मार्पाकमा भएको अर्को यात्रुबाहक बस दुर्घटनाबारे जानकारी दिए ।

समितिले प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक, प्रदेशसभा सदस्य निर्वाचन विधेयक, स्थानीय तहको निर्वाचनसम्बन्धी विधेयक, राजनीतिक दलसम्बन्धी कानुनलाई एकीकरण गर्ने विधेयकलगायत सबै तहको निर्वाचनका लागि अत्यावश्यक विधेयक तर्जुमा र तयारीका सम्बन्धमा सरकार र निर्वाचन आयोगसँग जानकारी लिन बुधबार बैठक राखेको थियो । रासस