११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


‘अझैपनि नागरिक सूचना पाउनबाट बन्चित’


0
Shares

काठमाडौं, असोज १२ । सूचनामा नागरिकको सर्वव्यापी पहुँचका लागि अन्र्तराष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

राष्ट्रिय सूचना आयोगले बुधबार काठमाडौंमा गरेको कार्यक्रमका सहभागीले सूचना पाउने अधिकारलाई अहिलेको संविधानले मौलिक अधिकारकारुपमा उल्लेख गरेको भएपनि अझैपनि नागरिक सूचना पाउनबाट बन्चित भएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले सूचना पाउनु व्यक्तिको आधारभूत अधिकार हो भन्दै यसलाई प्रजातन्त्रको आधारकोरुपमा लिनुपर्ने बताइन् ।

उनले सूचनाको हकको न्यायिक सुनिश्चिताको लागि आफूले सक्दो सहयोग गर्ने आश्वासन दिइन् ।

यस्तै, प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले सूचना केका लागि लिने र कहाँबाट लिने ? भन्ने विषयमा अझैपनि धेरैजसो जनता बेखबर रहेको भन्दै यसको क्षेत्र विकास गर्नुपर्ने बताए ।

पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदबार प्रवेशका लागि आमनागरिकलाई निकै अफ्ठेरो पर्ने भन्दै यो सहज नहुन्जेल जनताले चाहेको सूचना प्राप्त गर्न नसक्ने बताए ।

कार्यक्रममा आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले हरेक निकायमा गएर आमनागरिकले सार्वजनिक र व्यक्तिगत चासोका विषयमा सूचना लिनसक्ने भन्दै आफ्नो हक, अधिकार प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरे ।

कार्यक्रममा सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि विशेष भूमिका निर्वाह गरेको भन्दै इमेज च्यानलका जाजरकोट सहकर्मी गणेश बानियाँसहित ७ जनालाई पुरस्कृत गरिएको थियो ।

पुरस्कारको राशी प्रतिव्यक्ति जनही ३० हजार रुपैयाँ नगद र सम्मानपत्र रहेको छ ।