११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


सार्क सम्मेलन अन्योलमा, सार्क संसदीय सम्मेलन भोलिदेखि काठमाडौंमा


0
Shares

काठमाडौं, असोज १२ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को आगामी शिखर सम्मेलन हुने/नहुने अन्योल बढिरहेकाबेला सार्कको भूमिका प्रभावकारी बनाउने विषयमा विहीबार (भोलि)देखि काठमाडौंमा क्षेत्रीय सम्मेलन सुरु हुँदैछ ।

भारतले पाकिस्तानसँगको तनाबको कारण देखाउँदै पाकिस्तानमा आयोजना हुने सार्क शिखर सम्मेलनमा सहभागी नहुने बताइसकेको परिस्थितिमा सदस्य राष्ट्रहरुलाई सुझाव दिन सम्मेलन गर्न लागिएको हो ।

व्यवस्थापिका–संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी नेपालमा पहिलोपल्ट सबै सार्क राष्ट्रका अन्तर्राष्ट्रिय संसदीय समितिका सभापतिहरुको सहभागितामा सम्मेलन गर्न लागेको जानकारी दिएको हो ।

सम्मेलनलाई सफलतापूर्वक सन्चालन गर्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा पाँच सदस्यीय सार्क प्रभावकारिता उपसमितिको गठन गरिएको छ ।

सम्मेलनमा सार्ककोबारेमा दख्खल राख्ने विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरी विभिन्न पाँच विषयमा कार्यपत्रहरु प्रस्तुत् गरिनेछ ।

यी कार्यपत्रहरु प्रस्तुत् हुने सत्रहरुको सभापतित्व पूर्वउपप्रधानमन्त्रीहरु भीम रावल, नारायणकाजी श्रेष्ठ, कमल थापा, सुजाता कोइराला र विजयकुमार गच्छदारले गर्ने बताइएको छ ।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ ।