१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


पन्चकन्या फाइनलमा, सगरमाथा बाहिरियो, कलर्सले कान्तिपुरलाई हरायो


0
Shares

काठमाडौं, असोज १३ । एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत् विहीबार भएको पहिलो खेलमा कलर्स एक्स फ्याक्टर्स कान्तिपुर गोर्खाज्लाई १५ रनले पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको कलर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १२४ रन जोड्यो ।

कलर्सका ब्याट्सम्यान योगेन्द्रसिंह कार्कीले ३० रन जोडे भने कप्तान ज्ञानेन्द्र मल्लले २० तथा अमर रौतेलाले १६ रनको योगदान दिए ।

कान्तिपुरका बसन्त रेग्मी र ललितसिंह भण्डारीले समान २–२ विकेट लिए भने ललित राजवंशी र आकाश विष्टले समान १–१ विकेट लिए ।

कलर्सले दिएको १२५ रनको विजय लक्ष्यलाई पछ्याएको कान्तिपुर भने निर्धारित् २० ओभरमा सात ७ विकेट गुमाउँदै १०९ रनमा समेटियो ।

कान्तिपुरका लागि प्रदीप ऐरीले ३१, रेग्मीले २५ तथा अन्तिम थापाले ३० रनको योगदान दिए पनि त्यो जितका लागि पर्याप्त भएन ।

कान्तिपुरलाई १०९ रनमा समेट्नेक्रममा कलर्सका अमर रौतेलाले ३ तथा अविनाश कर्णले २ विकेट लिए ।

त्यसैगरी, योगेन्द्रसिंह कार्की र हरिशकंर शाहले समान १–१ विकेट लिए ।

प्रतियोगिताअन्तर्गत् विहीबार भएको दोस्रो खेलमा पन्चकन्या तेजले सगरमाथा लेजेन्ड्सलाई ४९ रनको विशाल अन्तरले हराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै भएको खेलमा टस जितेर ब्याटिङ गरेको पन्चकन्याले निर्धारित् २० ओभरमा पाँच विकेट गुमाउँदै १८५ रनको विशाल योगफल तयार पार्‍यो ।

जवाफी ब्याटिङमा आएको सगरमाथा १७.४ ओभरमै अलआउट हुँदै १३६ रनमा समेटियो ।

पन्चकन्याको जितमा करण केसीले अर्धशतकीय पारी खेल्दै ५२ रन बनाए । त्यस्तै, पृथु बाँस्कोटाले ३८, कप्तान शरद भेषवाकरले ३० तथा कुशल भुर्तेलले २२ रन बनाएपछि पन्चकन्याको जित सहज भयो ।

सगरमाथाका मेहबुब आलमले सर्वाधिक २३ रन तथा विक्रम सोबले २ विकेट लिए पनि आफ्नो टोलीलाई जिताउन सकेनन् ।

जारी लिगमा चार खेलमा सबै जित हासिल गरेको पन्चकन्या प्रतियोगिताको फाइनलमा पुगेको छ भने सबै खेल हारेको सगरमाथा बाहिरिसकेको छ ।

प्रतियोगिताअन्तर्गत् बिहीबार जगदम्बा राइनोज्विरुद्ध कलर्स एक्स फ्याक्टर्स तथा विशाल वारियर्सविरुद्ध पन्चकन्या तेज भिड्नेछन् । रासस