काठमाडौं, असोज १४ । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई शुक्रबार पद तथा गोपनीयताको शपथ गराएकी छन् ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा आयोजित समारोहमा नवनिर्वाचित सभापति बरालले शपथ लिएका हुन् ।
नेकपा माओवादी केन्द्रका सचेतक सीता नेपाली प्रस्तावक र नेकपा एमालेका काशीनाथ अधिकारीको समर्थनमा उम्मेदवारी दिएका उनी बिहीबार निर्विरोध सभापति पदमा चयन भएका हुन् ।
नेपाली कांग्रेसका तर्फबाट सिन्धुली क्षेत्र नम्बर–२ बाट व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्दै आएका सभापति बराल यसअघि अर्थ समितिको सदस्य थिए ।
सिन्धुलीको रानीवास स्थायी घर भएका बरालले २०३९ सालबाट राजनीति यात्रा आरम्भ गरेका थिए । उनले लामो समयसम्म प्राध्यापन गरेका थिए ।
मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा सक्रिय हुँदा पटक–पटक गरी उनले एक वर्ष जेल जीवन बिताएका छन् ।
यसअघि, उक्त समितिको सभापति रहेका गगनकुमार थापा वर्तमान मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री भएसँगै सभापति पद रिक्त भएको थियो ।
नवनिर्वाचित सभापति बरालले शुक्रबारै सिहदरबारस्थित समितिको सचिवालयमा आफनो पदभार सम्हालेका छन् ।रासस





प्रतिक्रिया दिनुहोस्