Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


अर्थतन्त्रसम्बन्धी तीन विधेयक बहुमतले पारित


0
Shares

                                              फाइल फोटो

काठमाडौं, असोज १४ । व्यवस्थापिका–संसदको बैठकले अर्थतन्त्रसम्बन्धी तीन विधेयकलाई बहुमतले पारित गरेको छ ।

ती विधेयकमा आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत (एक्काइसौं संशोधन) विधेयक २०७३ रहेका छन् ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले सदनको शुक्रबारको बैठकमा ती ‘विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत् गरेका थिए ।

ती विधेयकलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारलेसमेत सदनसमक्ष प्रस्तुत् गरेको थियो ।

तर, तत्कालीन सत्ता साझेदार प्रमुख दल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएका कारण ती विधेयक पारित हुन सकेका थिएन ।

ती विधेयकका सैद्धान्तिक पक्षमाथिको छलफलमा नेपाली कांग्रेसका भरतकुमार साह र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भाग लिएका थिए ।

अर्थमन्त्री महराले आर्थिक समृद्धिमा सरकारले जोड दिएको, बिलासीमा उपकरणमा उच्चकर लगाइएको, करका दरलाई समयसापेक्षरुपमा परिमार्जन गरिएको बताए ।

उनले कर चुहावट नियन्त्रणमा सरकारले उच्च प्राथमिकता दिएको, कर प्रणालीमा सुधार भइराखेको पनि जानकारी दिए ।

व्यवस्थापिका–संसदको अर्काे बैठक २०७३ असोज १६ गते आइतबार दिनको १ बजे बस्नेछ । रासस