१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


देशका विभिन्न स्थानमा अविरल बर्षा, पहिरोले एकै परिवारको तीन जनाको मृत्यु


0
Shares

सिन्धुपाल्चोक, असोज १५ । काठमाडौं उपत्यकासहित मध्य र पूर्वी नेपालका केही ठाउँमा गएरातिदेखि मेघगर्जनसहित पानी परेको छ ।

पूर्वी वायु सक्रिय भएको तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आएकाले विशेषगरी पहाडी क्षेत्रको मौसम बदली भएको मौसम विभागले जनाएको छ ।

बिहान ८–९ बजेपछि बिस्तारै मौसम खुल्दै गएपनि बेलुकापख फेरि बदली भई हल्का पानी पर्ने अनुमान मौसम विभागको छ ।

पश्चिमको मौसम भने सफा रहने छ । गएको २४ घण्टामा धरानमा सबैभन्दा धेरै ५० दशमलव ५ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यता, सिन्धुपाल्चोकमा अबिरल वर्षापछि आएको पहिरोले एकै परिवारको तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राम्चे गाउँ विकास समिति ७ पुराना गाउँका ३५ वर्षीया रामकुमार तिमिल्सिना, उद्धब तिमिल्सिना र उनकी श्रीमती सम्झना तिमिल्सिना छन् ।

अविरल वर्षाले शनिबार बिहान ३ बजेतिर घर माथिबाट आएको पहिरोले पुरेर उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले जानकारी दिए ।

पहिरोले पुरिएका अरु दुई जनाको भने स्थानीयले उद्धार गरेका थिए । पहिरोले पुरिएका मध्ये रामकुमारको शव फेला परेको छ अरु दुई जनाको पहिरोबाट शव निकाल्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । पहिरोले दुई वटा अस्थाई टहरा समेत पुरेको छ ।