Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


फोहोर फाल्नेविरुद्ध कडा अभियान थाल्न टोलबासीलाई नै अधिकार दिने


0
Shares

काठमाडौं, असोज १५ । काठमाडौं महानगरपालिकाले महानगरभित्र फोहोर फाल्नेविरुद्ध कडा अभियान थाल्न टोलबासीलाई नै अधिकार दिने तयारी गरेको छ ।

काठमाडौंको धुम्बाराहीमा आज रारा संयुक्त समाजले गरेको कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले टोल तथा सार्वजनिक स्थलमा फोहोर गर्नेलाई महानगरपालिकाले मात्रै नियन्त्रण गर्न नसक्ने भन्दै यसका लागि स्थानीय टोल तथा समितिलाई नै सक्रिय बनाउनुपर्ने बताए ।

उनले आवश्यक परे टोल छिमेकमा फोहोर फाल्नेका विरुद्ध कारबाही गर्ने अधिकार टोल सुधार समितिलाई नै दिन महानगरपालिका तयार रहेको बताए ।

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जवराले हरेक व्यक्ति र घरले आफ्नो टोल छिमेक सफा राख्छु भन्ने प्रतिबद्धता जनाउन सके त्यसले सिंगो शहर सफा हुने धारणा राखेका थिए ।

यस्तै पूर्व प्रहरी महानिरीक्षक कुवेर सिंह राणा, रारा समाजका अध्यक्ष रामहरी अधिकारीलगायतले कम्तीमा टोलबासी मात्रै एकताबद्ध हुनसके पनि समाजमा हुने चोरी, लुटपाटलगायतका घटनामा निक्कै कमी आउने धारणा राखेका थिए ।