१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


घरघरमा जमरा राखियो


0
Shares

काठमाडौं, असोज १५ । यो वर्षको बडादसैं आज (शनिबार)बाट सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ ।

बिहान ८ बजेर ३५ मिनेटको शुभसाइतमा घरघरमा घटस्थापनासहित जमरा राखिएको हो । काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा पनि यही शुभसाइतमा घटस्थापना गरिएको छ ।

घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै दसैंघरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरिन्छ ।

बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैंघरमा विधिपूर्वक राखेर त्यसमाथि जौ रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ ।

जौको अंकुर दुर्गादेवीको प्रियवस्तु भएकाले यस दिन रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका–प्रसादसँगै समृद्धिको प्रतीक पहेंलो जमरा ग्रहण गरिन्छ ।

यसदिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा–आराधना गरिने भएकाले यसदिनलाई घटस्थापना भन्ने गरिएको हो ।

यसरी स्थापना गरिएको पूर्णकलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ ।

दुर्गादेवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ ।

महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवं महासरस्वती विद्या तथा बुद्धिको प्रतीककारुपमा पूजा–आजा एवं आराधना गर्ने परम्परा नेपाली समाजमा छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीककारुपमा रहेका चन्ड, मुन्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायत राक्षसलाई बध गर्न लिएका ९ रुपको दुर्गापक्षका अवसरमा विशेष पूजा–आजा र आराधना हुन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष भनिन्छ । यसपक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथो दिन कुष्मान्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।

९ दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । दुर्गाको प्रतीककारुपमा महानवमीसम्म हरेक दिन फरक–फरक गरी ९ कन्याको पूजा गरिन्छ ।

बडादसैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ भने महाअस्टमी र महानवमीका दिन बलि पूजा गर्नेले दशैंघर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्छन् ।

नवरात्रभर दुर्गा सप्तशती चन्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं पाठ गरिन्छ ।

यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा–आराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्छ ।

नवरात्र भनेरसमेत चिनिने दसैं यो वर्ष तिथिको घटबढ नरहेकाले १० रात्रि र ११ दिनको छ ।

आज विधिपूर्वक घर–घरमा आह्वान गरी पूजा–आराधना गरिने दुर्गादेवीलाई असोज २५ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादकारुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ ।

असोज २५ गते देवी विसर्जनको साइत बिहान ८ बजेर २५ मिनेटमा रहेको समितिले जनाएको छ ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने असोज २५ गते ८ बजेर ४५ मिनेटको साइत उत्तम रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ ।