
काठमाडौं, असोज १५ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा समाजका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने ज्येष्ठ नागरिकलाई शनिबार राधजानीमा सम्मान गरिएको छ ।
लायन्स क्लब अन्तर्राष्ट्रिय, डिस्ट्रिक ३२५ ‘ए टु’ले गरेको कार्यक्रममा राष्ट्रकवि माधव घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी, वरिष्ठ पत्रकार भैरव रिसाल, वरिष्ठ चिकित्सक गौरीशंकर लालदासलगायतलाई सम्मानित गरिएको हो ।
यस्तै, वरिष्ठ साहित्यकार बैरागी काइँला, तेजेन्द्रबाबु गोंग, चन्द्रकुमारी श्रेष्ठ, गोविन्दनारायण ज्यापुलगायतलाई पनि कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले सम्मान प्रदान गरे ।
कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले ‘ज्येष्ठ नागरिकहरुप्रति सम्मान र प्रेमको भावना विकास गर्न सकिए उनीहरु सधैं खुसी हुने’ बताए ।
उनले ‘ज्येष्ठ नागरिकलाई परिवारबाट तिरस्कृत होइन, पुरस्कृत हुने वातावरण बनाउनु हरेक सन्तानको मुख्य दायित्व’ भएकोमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्