Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


सरकार र यातायात व्यवसायीबीच विवाद हुँदा यात्रुहरु मारमा


0
Shares

काठमाडौं, असोज १५ । नेपालीहरुको महान् चाड बडादसैं सुरु भएपछि काठमाडौंबाट बाहिरिने यात्रुहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ ।

यसपालिको दसैंमा करिब २५ लाख व्यक्ति काठमाडौं बाहिरिने अनुमान सम्बन्धित निकायको रहेको छ । तर, दसैंमा घर जाने व्यक्तिहरु भने पायकपर्ने दिनमा टिकट नपाएर समस्यामा पर्ने देखिएको छ ।

यातायात व्यवसायीले गत असोज ७ गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छन् ।

हाल गोंगबु बसपार्कमा अग्रिम टिकट बुकिङ गर्नेहरुको भीड अत्यधिक बढेको देखिन्छ । हाल दैनिकरुपमा करिब ४ हजारदेखि ८ हजार ओटा अग्रिम टिकट बुकिङ भइरहेको तथ्यांक रहेको छ ।

अग्रिम टिकट बुकिङ खुला गरिएपनि सहजरुपमा टिकट पाउन नसकिएको यात्रुहरुले गुनासो गरेका छन् ।

पश्चिम नेपाल बस व्यवसायी संघका काठमाडौं शाखा प्रमुख डिल्लीराम भुषालले यात्रुहरुको सुविधाको लागि थप गाडीहरु सन्चालनमा ल्याइएको हामीसँग बताए ।

संघले सेवा सन्चालन गर्ने लुम्बिनी अञ्चलमा हाल नियमित रुटमा ४० प्रतिशत ‘क्यु’ बढेको साथै विभिन्न रुटमा थप बसहरु सन्चालनमा ल्याइएको उनले जानकारी दिए ।

दसैंको समयमा यात्रुको चाप अत्यधिक बढ्ने हुँदा यात्रु व्यवस्थापनको लागि सिट क्षमताभन्दा बढी यात्रु राख्न पाउनुपर्ने उनको माग छ ।

सरकारले भने सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने नियममा कडाइ गर्न थालेको छ ।

प्रहरी प्रभाग नयाँबसपार्कका प्रहरी निरीक्षक पूर्णिमा चन्दले सिट क्षमताभन्दा बढी यात्रु र सामान राखेको पाइएमा कारबाही गर्ने बताइन् ।

सरकार र यातायात व्यवसायीबीच सिट क्षमताभन्दा बढी यात्रु राख्न पाउने/नपाउने विषयमा विवाद उत्पन्न हुँदा त्यसको प्रत्यक्ष मार यात्रुहरुलाई परेको छ ।

दसैंमा यात्रुहरुलाई सजिलै टिकट उपलब्ध गराउन सम्बन्धित सबै निकायले संयुक्त पहल गर्नुपर्ने आवश्यकता रहेको छ ।