
काठमाडौं, असोज १६ । यस वर्षको बडा दशैं सुरु भएको छ । नवरात्रको अन्तर्गत दोस्रो दिन आज देवी भगवतीको दर्शन र आराधनाका लागि देशभरका शक्तिपीठहरुमा विहानैदेखि भक्तजनको घुईचो लागेको छ ।
दोस्रो दिन ब्रह्मचारिणी देवीको आराधना गरिन्छ । यसअघि हिजो घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरियो ।
काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा पनि घटस्थापना गरिएको छ । घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै नौं दिनसम्म दशैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरिन्छ ।
घटस्थापनाका दिन राखिएको जमरा दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै लगाउने गरिन्छ । देवी दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ ।
महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा नेपाली समाजमा छ ।
पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।
दुर्गाका नौं रुपलाई नवदुर्गा भन्ने गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् पाठ गरिन्छ ।
यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्