Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


इन्टरनेटको सहायतामा हाँस र टर्की पालन, मासिक ५० हजार आम्दानी


0
Shares

पाल्पा, असोज १६ । पाल्पा जिल्लाको रुप्से गाविस–४, खसाडीका २२ वर्षीय ताराप्रसाद पाण्डेयले इन्टरनेटको सहायताले हाँस र टर्की पालन गरी आम्दानी लिन सफल भएका छन् ।

हाँस र टर्की पालनसम्बन्धी अध्ययन र अनुभव नभएपछि अत्याधुनिक प्रविधि इन्टरनेटमा गुगल सर्च गरेर पाण्डेयले व्यावसायिक रुपमा हाँस र टर्की पालनसम्बन्धी अध्ययन गरेर मासिक रु ५० हजार आम्दानी गर्न सफल भएका हुन् ।

गुगलमा हाँस र टर्की पालन गर्ने तरिका सिक्नका लागि पाण्डेयले करिब एकवर्षदेखि इन्टरनेट प्रयोग गर्दै आएका हुन् ।

एक बिगाहा क्षेत्रफलमा हाँस तथा टर्कीको फार्म सञ्चालन गरेका पाण्डेय पहाडी जिल्ला पाल्पामा समेत हाँस र टर्की पालन व्यवसायमा सफल बन्दै यस क्षेत्रकै नमुना बनेका छन् ।

एक वर्षअघिदेखि टर्की र हाँस पालन सुरु गरेका पाण्डेयले गुगलको सहयोग लिएर एक हजार ५०० हाँसको रेखदेख र २०० टर्कीको चल्ला हुर्काउन सफल भएपछि उनमा थप उत्साह थपिएको छ ।

पाण्डेयले नयाँ नयाँ जातका कुखुराको अध्ययन र अनुसन्धान गरिरहेका छन् । पचास वटा टर्की हुर्काएर प्रतिकिलो रु ९०० देखि रु एक हजार २०० मा घरबाट नै निकासी हुँदै आएको छ । टर्कीको मासुको खपत सहज रुपमा हुने र पोखरा, बुटवल, काठमाडौँमा बिक्री हुने गरेको उनी बताउँछन् ।

सुरुमा टर्कीको चल्ला फ्रान्सबाट ल्याएर व्यवसाय सञ्चालन गरेका पाण्डेय अहिले पोखराबाट टर्कीको चल्ला ल्याउन पाउँदा खुसी छन् । कक्षा–१२ सम्मको अध्ययन गरेका पाण्डेय व्यावसायिक पक्षी फार्मको विकास गर्ने लक्ष्य लिएको बताउँछन्।

पहिलो पटक जिल्लामै यति धेरै हाँस पालन गरेका पाण्डेयले मेहनत कम धेरै आम्दानी लिन सकिने व्यवसाय रहेको बताउँछन्। हाँसको रोग प्रतिरोधात्मक शक्ति बढी हुने र कम क्षति हुने हुँदा यसबाट राम्रो फाइदा लिन सकिने उनी बताउँछन् ।

यहाँ उत्पादित हाँसको तानसेन, खहरे, बुटवल, पोखरामा प्रतिकिलो रु ५०० देखि ६००मा बिक्री हुने गरेपछि पाण्डेयलाई हाँस र टर्की पालन गर्नका लागि थप मेहनत र जाँगर मिलेको छ । रासस

Skip This