चितवन , असोज १६ । चितवनको सिद्धि गाविसका चेपाङ वस्तीहरु केही समय पहिले सम्म विहनबेलुका पेटभर खान नपाउने अवस्थामा थिए । अहिले उनीहरुको विगतको दु:ख कथा बनेको छ । जब सिङ्गो समुदायले नै व्यावसायिक रुपमा बाख्रा पालन गर्न थाल्यो तब चितवनको पहाडी भेगमा अवस्थित चेपाङवस्तीमा आर्थिक बारेवार लाखमा होईन करोडमा हुन थाल्यो ।
हेफर इन्टरनेशनल नेपालको सहयोगमा व्यावसायिक रुपमा बाख्रापालन सुरु गरेका चेपाङ समुदायले ३६१ वटा खसी, ३६४ वटा बोका गरी ७३५ वटा खसी बिक्री गरिसकेका छन् ।
खसीबोकाको बिक्रीबाट ५६ लाख २० हजार रुपैयाँ चेपाङ समुदायमा भित्रिएको छ । सिद्धि गाविसका ६४८ घरधुरीले दसैँका लागि मात्र डेढ करोड मूल्य बराबरको खसीबोका उत्पादन गरेका छन् । दसैंका लागि भनेर चेपाङ समुदायले १ हजार ५०० खसीबोका उत्पादन गरी बिक्रीको लागि तयारी अवस्थामा राखेका छन् ।
दसैंसम्म १ हजार ५०० खसीबोका बिक्री गर्ने योजना रहेको स्थानीयले बताएका छन् । । २०६९ सालदेखि साना किसान उद्यमी सवलीकरण परियोजनाले सिद्धिका चेपाङ समुदायलाई बाख्रापालनमा अभ्यस्त बनाएको थियो । बाख्रापालन सुरु भएपछि सिद्धिका चेपाङहरुको आर्थिक अवस्थामा ठूलो परिवर्तन आएको स्थानीय चेपाङहरु बताउँछन् ।





प्रतिक्रिया दिनुहोस्