
काठमाडौं । लिपि विशेषज्ञ पण्डित हेमराज शाक्यको शालिक अनावरण गरिएको छ ।
ललितपुर महानगरपालिका अगाडी रहेको बगैचामा उक्त शालिकको स्थापना गरिएको हो ।
मां भाय् पुचःले आयोजना गरेको एक समारोहका बीच महानगरपालिकाको मेयर चिरिबाबु महर्जनले उक्त शालिक अनावरण गरेका छन् ।
अनावरण पश्चात मन्तब्य राख्नुहुदै मेयर महर्जनले पण्डित शाक्यको योगदानको चर्चा गर्दै यस्तै संग्रह रहने मेट्रो पुस्तकालय स्थापना गर्ने तथा नेपालभाषाको लागि २ वटा विद्यालय स्थापना गर्ने उद्घोष गरे ।
शताब्दी पुरुष सत्यमोहन जोशीले पण्डित शाक्य नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्यक्तित्व रहेको उल्लेख गर्दै पण्डित शाक्यको ‘मूलुखा’ निकै महत्वपूर्ण ग्रन्थ रहेको उल्लेख गरे ।
प्राध्यापक प्रेमशान्ति तुलाधरले पण्डित शाक्यको जीवन, संघर्ष र योगदानबारे प्रकाश पारेका थिए भने पण्डित शाक्यका कान्छा छोरा सुरेन्द्र शाक्यले बुबाको इच्छा अनुसार आफू र आफ्नो परिवार भाषा, लिपि, संस्कृति, सम्पदा संरक्षणमा निरन्तर क्रियाशील रहने बताए ।
नेपालभाषा मंका खलः ललितपुरका अध्यक्ष ऋषिप्रसाद श्रेष्ठले शालिक स्थापना गर्नु राम्रो तर ब्यक्तित्व र योगदानको ख्याल नगरी बगैचाको कुनातिर राखिएकोप्रति असन्तुष्टि ब्यक्त गर्दै महानगरपालिकाको ध्यानाकर्षण गराए ।
नेपालमा प्रचलित प्राचीन लिपिका विशेषज्ञ पण्डित शाक्यका ७२ वटा पुस्तक प्रकाशित छन् ।
सबैभन्दा पुरानो ब्राम्ही लिपिदेखि रञ्जना लिपि, कुताक्षर, प्रचलित लगायतका २९ वटा लिपिको स्वरुप र लेखन पद्धतिका साथै विभिन्न स्थानमा रहेको शिलापत्र, ताम्रपत्र लगायत संग्रहित नेपाल लिपि संग्रह पुस्तक महत्वपूर्ण संग्रह मानिएको छ ।
बौद्धधर्म संस्कृति, पुरातत्वका समेत ज्ञाता पण्डित शाक्यले २२ बर्ष लगाएर ३ हजार पृष्ठको हस्तलिखित “स्वयम्भू महाचैत्य” उनको अर्को प्रचलित कृति हो ।
उक्त ग्रन्थ प्रकाशनका लागि दिएको पाण्डुलिपि प्रेसले हराईदिँदा पुनः लेख्नुपर्ने अवस्थामा विचलित नभएको कार्यक्रममा वक्ताहरुले चर्चा गरे ।
लिपि पुनर्उथानका लागि विभिन्न स्थानमा गइ लिपि सिकाउने कार्य समेत सक्रिय पण्डित शाक्यको ९ बर्षअघि घोडाजात्राकै दिन उनकोे निधन भएको थियो ।
कार्यक्रम मां भाय् पुचःका अध्यक्ष हेरारत्न शाक्यको सभापतित्वमा भएको थियो ।
मातृभाषा, साहित्य, शिक्षामा क्रियाशील रहँदै आएको मां भाय् पुचःले यस अघि नेपालभाषाका प्रथम पत्रकार धर्मादित्य धर्माचार्यको शालिक पनि स्थापना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्