१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


तरकारी खेतीबाट फेरियो जीवनशैली


0
Shares

म्याग्दी, असार २५ । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोट अम्बोटका ४८ वर्षीय हरिलाल घिमिरेको जीवनस्तर तरकारी खेतीबाट फेरिएको छ ।

३० वर्षअघि गरिवीका कारण गाउँमा बस्ने अवस्था नभएपछि विदेश जान ६० हजार ऋण नपाएर छट्पटिएका घिमिरे अहिले तरकारी खेतीबाट नै मासिक ६० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

१० वर्षसम्म साउदी अरबको चर्को गर्मीमा पसिना बगाइ मेहनत गर्दा पनि मासिक २० हजार रुपैयाँ कमाइ गर्न नसकेपछि गाउँ फर्किएका घिमिरेले २०५६ सालदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका हुन् । ७ रोपनी जग्गामा गोलभेंडा, करेला, साग, भण्टा, रामतोरिया, बोडी, बन्दागोभीलगायतका मौसमी तथा बेमौसमी तरकारी खेती गरेका घिमिरेले बार्षिक ६ लाख रुपैयाँभन्दा बढी कमाइ हुने गरेको बताए ।

पहिला २/४ सय रुपैयाँ आवश्यक पर्दा अरुसँग हात थाप्नुपर्ने घिमिरेले अहिले विभिन्न बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गर्नुका साथै छोराछोरीको पढाई र घरघडेरीसमेत जोडेका छन् ।

सरकारले कृषकलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याएर उत्पादित कृषि उपजको बजारीकरणमा सहयोग गरिदिए किसानका लागि राहत हुने उनको भनाइ छ ।