
काठमाडौं, असोज १६ । एमबीबीएस परीक्षामा पास गराईदिने भनी रकम लिने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार वर्ल्ड वाईड कन्सल्टेन्सी पुतलीसडकका संचालक महोत्तरी गोनरपुरा–६ घर भई काठमाडौं महानगरपालिका–१२ टेकु बस्ने २६ बर्षीय दिपक कुमार साह र सोही कन्सल्टेन्सीमा काउन्सीलिङ काम गरी बस्ने सिन्धुली आम्बोटे–९ घर भएका २५ बर्षीय गणेश अधिकारीलाई पक्राउ गरिएको हो ।
अधिकारीले काठमाडौं नागार्जुन नगरपालिका–२ बस्ने सायसा पन्तलाई आफु पुतलीसडकस्थित वर्ल्ड वाईड कन्सल्टेन्सीमा काम गर्ने र विभिन्न डाक्टरहरुसँग राम्रो चिनजान रहेको भन्दै असोज १५ गतेदेखि काठमाडौं विश्व विद्यालयबाट हुने एमबीबीएस परीक्षामा पास गरीदिन्छु तर पैसा लाग्छ भनी विश्वास दिलाई पन्तको आमा विमला पन्तसँग २ लाख लिने सहमती गरेको प्रहरीको भनाइ छ ।
तत्पश्चात अन्य व्यक्तिहरुलाई बुझ्दा त्यसरी पास गराउन नसक्ने यकिन भएपछि पीडितहरुले महानगरीय अपराध महाशाखामा निवेदन दिएको प्रहरीले जनाएको छ ।
अधिकारीले रकम बागेर्निङ गरी २ लाखको चेक लिए पश्चात ‘अब काम हुन्छ, ढुक्क हुनुहोस्’ भन्ने जस्ता आश्वासन दिदै गरेको अवस्थामा असोज १२ गते महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।
गणेश अधिकारीले उक्त काम संचालक दिपक कुमार साहमार्फत हुने बताएपछि प्रहरीले असोज १३ गते टेकुबाट साहलाई समेत पक्राउ गरेको हो । दुवै जनालाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि असोज १४ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
निज दिपक कुमार साहले आफुलाई डाक्टर बताई ठगी गर्ने गरेको देखिएकोमा निज बास्तविक डाक्टर नभएको समेत खुल्न आएको प्रहरीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्