काठमाडौं, असोज १६ । नेपाल उद्योग वाणिज्य महासंघले संसद्बाट पारित औद्योगिक व्यवसाय ऐनको स्वागत गरेको छ । ऐन पारितसँगै उद्योगको विकास र विस्तारमा सकारात्मक प्रभाव पर्ने पनि महासंघको विश्वास छ ।
महासंघले आइतबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष पशुपति मुरारकाले यो ऐनमा राखिएका प्रावधानलाई अन्य कुनै पनि ऐनले नकाट्ने भएकाले निजी क्षेत्र खुसी र उत्साहित भएको बताए । उनले ‘नो वर्क, नो पे’ को व्यवस्थाले ‘मोर वर्क, मोर पे’ को वातावरण बनाउने बताए ।
श्रम ऐनमा पनि ट्रेड युनियनसँग ‘नो वर्क, नो पे’ को व्यवस्था राख्ने सहमति भइसकेको उनले जनाए । सरकारले चाहेमा यो ऐन तत्काल कार्यान्वयनमा आउन सक्ने महासंघले जनाएको छ ।
वरिष्ठ उपाध्यक्ष भवानी राणाले ऐनले उत्पादनमुलक उद्योगलाई पनि प्राथमिकता दिएकाले उत्पादनमुलक उद्योग फस्टाउने विश्वास व्यक्त गरिन् । यो ऐनले विदेशी लगानी भित्र्याउन पनि सहयोग पु¥याउने उनले बताइन् ।
उपाध्यक्ष शेखर गोल्छाले गैरकानूनी हड्ताल गरेमा तलब नपाउने र कानूनी रुपमा हड्ताल गरेमा न्यूनतम तलबको ५० प्रतिशत पाउने व्यवस्था भएको बताए ।
महासंघले तत्काल नियमावली बनाई छुटेका विषयको सम्बोधन गर्दै कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराएको छ ।





प्रतिक्रिया दिनुहोस्