१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


नेपाल-भारत प्रबुद्ध समूहको बैठकमा भाग लिन नेपाली टोली दिल्लीतर्फ


0
Shares

काठमाडौं, असोज १७ । नेपाल–भारत प्रबुद्ध समूह, ईपीजीको मंगलबार देखि भारतको नयाँदिल्लीमा सुरु हुने बैठकमा सहभागी हुन नेपाली टोली सोमबार नयाँदिल्ली प्रस्थान गरेको छ ।

पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापाको संयोजकत्वमा रहेको नेपाली प्रबुद्ध टोलीमा पूर्वमन्त्री नीलाम्बर आचार्य, सांसद राजन भट्टराई र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय सदस्य छन् ।

भारतको तर्फबाट सांसद भगतसिंह कोसियारी, पूर्वराजदूत जयन्तप्रसाद, प्राध्यापक बिसी उप्रेती र महेन्द्र पी लामा छन् ।

ईपीजीको नयाँदिल्ली बैठकमा नेपालले १९५० मा भएको शान्ति तथा मैत्री सन्धि पुनरावलोकनको प्रस्ताव राख्ने तयारी गरेको छ ।

१९५० को सन्धिबारे पटक–पटक कुरा उठेपनि कुनै निष्कर्षमा पुग्ने गरेको छैन । भारतीय पक्षले सन्धि पुनरावलोकनका लागि आफू तयार रहेको भन्दै संशोधनको प्रस्ताव ल्याउन नेपालसँग आग्रह गरेको छ ।

यद्यपि, नेपालले अहिलेसम्म कुनै ठोस प्रस्ताव राखेको छैन । १९५० को सन्धिलगायत सबै विषयमा अध्ययन गरी प्रतिवेदन दिन प्रबुद्ध समूह गठन गरिएको हो ।

गठन गरिएको करीब चार महिनापछि पहिलो बैठक असार मध्यमा काठमाडौंमा भएको थियो ।