मानबहादुर वली (इमेज)
सुर्खेत, चैत २२ । आउँदो वैशाखमा हुने भनिएको कर्णाली प्रिमियर लिग क्रिकेटका लागि स्तरीय रंगशाला निर्माण नहुँदा खेलाडी चिन्तित बनेका छन् ।
रंगशाला निर्माणका लागि प्रदेश सरकारबाट विनियोजित बजेट खर्च हुन नसकेपछि खेलप्रेमीहरु मैदान निर्माणमा आफैं जुट्नुपर्ने बाध्यता भएको हो ।
कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा वैशाख १२ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा दोस्रो केपीएल क्रिकेट प्रतियोगिता सन्चालनका मैदानको समस्या देखिएको छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशस्तरीय रंगशाला निर्माणका लागि चालू आर्थिक वर्षमा ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, ९ महिना बितिसक्दा पनि बजेट कसरी खर्च गर्ने विषयमै मन्त्रालय अलमलमा छ ।
सरकारी पहल अपेक्षित हुन नसके पनि प्रतियोगितालाई भव्यतापूर्वक सफल बनाउनका लागि खेल अगुवाहरु चन्दा उठाएर मैदान बनाउने कार्यमा सक्रिय देखिएका छन् ।
कर्णाली प्रदेशबाट राष्ट्रिय क्रिकेट च्याम्पियन बनाउने र राष्ट्रियस्तरका खेलाडीहरु उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिताको दोस्रो संस्करण आयोजना गरिएको कर्णाली प्रिमियर लिगका अध्यक्ष जीवन शाहीको भनाइ छ ।
ठूला प्रतियोगिता सन्चालन गर्न सरकारले नै आवश्यक भौतिक पूर्वाधार निर्माण गर्नुको सट्टा बजेट नै ‘फ्रिज’ हुने अवस्थामा पुग्नुले खेलाडीहरु निराश बनेका छन् ।
खेलप्रति युुवाको आकर्षण बढाउन र खेलाडीलाई व्यावसायिक बनाउन सरकारले पूर्वाधार निर्माणमा चासो राख्नुपर्ने सुर्खेत क्रिकेट संघका अध्यक्ष श्रीधर केसी बताउँछन् ।
ठूला–ठूला प्रतियोगिता सन्चालनमा मैदानको अभावमा कारण खेलाडीहरुले खाली ठाउँमा अभ्यास गर्दै आएका छन् ।
कणाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल भने समग्र खेलकुदको विकासका लागि योजना र नीति बनाएरै अगाडि बढ्ने र आफूहरुले खेलकुदको विकासमा जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाउँछन् ।
आगामी प्रतियोगिताका लागि वीरेन्द्रनगरको कालुंचौक मैदानलाई खेल अगुवाले व्यवस्थित बनाउने प्रयास गरिरहेका छन् ।








प्रतिक्रिया दिनुहोस्