
काठमाडौं, चैत २२ । प्रदेश नम्बर–२ मा हालैको आँधीहुरीबाट घरबास गुमाएका बारा र पर्सा जिल्लाका परिवारहरुका लागि नेपाल सरकारले आवास बनाइदिने भएको छ ।
जनता आवास कार्यक्रमको ढाँचामा निर्माण गरिने घरहरू वर्षात् सुरु हुनुअघि नै आँधीप्रभावित घरबारविहीन परिवारलाई हस्तान्तरण गरिनेछ ।
सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय समाचार समितिसँग आँधीपीडितका लागि सरकारको ताजा योजनाबारे बिहीबार साँझ कुरा गर्दै सरकारको पछिल्लो निर्णयबारे जानकारी दिएका हुन् ।
मन्त्री बाँस्कोटा नेपाल सरकारका प्रवक्तासमेत हुन् ।
संघीय सरकारले यस्ता आवासको निर्माणकार्यको समन्वय र सहजीकरणका लागि प्रदेश नम्बर–२ का मुख्यसचिवलाई संयोजनको जिम्मेवारी दिएको छ ।
यस समितिमा सहरी विकास मन्त्रालयका प्रतिनिधि, दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र रक्षा मन्त्रालयका तर्फबाट नेपाली सेनाका प्रतिनिधि रहने व्यवस्था मिलाइएको छ ।
यी आवासको निर्माण गर्ने जिम्मा नेपालका कठिन भौगोलिक क्षेत्रमासमेत सडक पुर्याएर प्रशंसा आर्जन गरिरहेको नेपाली सेनाले पाएको छ ।
सरकारको पछिल्लो निर्णयबाट वर्षात्को बेला आँधीहुरी प्रभावित जनता कहाँ सुरक्षित ओत लाग्ने भन्ने चिन्ता गरिरहनु नपर्ने र पहिलेको तुलनामा बढी सुरक्षित जीवनयापन गर्न सहज हुने देखिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्