Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


विदेश पठाउने भन्दै नेपाली चेली दिल्ली लगेर देहव्यापारमा लगाउने गिरोह पक्राउ


0
Shares

काठमाडौं, असोज १८ । विभिन्न मुलुकमा रोजगारीका लागि पठाउने भन्दै नयाँ दिल्लीमा नेपाली चेलीलाई पुर्‍याएर देहव्यापारमा संलग्न गराउने गिरोह पक्राउ परेको छ ।

नयाँ दिल्लीमा क्राइम ब्रान्चले संदिग्ध अखडामा छापा मार्दै तीन युवतीलाई मुक्त गराएको छ भने गिरोहमा संलग्न दुई महिलासहित चारजनालाई पक्राउ गरेको छ ।

टाइम्स अफ इन्डिया अखबारमा जनाइए अनुसार न्यूजिल्याण्डसहित विभिन्न मुलुकमा रोजगारी लगाइदिने भन्दै गिरोहले नेपालबाट युवतीहरुलाई दिल्ली ल्याएको थियो । गिरोहले ८ देखि १० लाख रुपैयाँ असुलेर ल्याइएका ती युवतीलाई दिल्लीमा बन्धक बनाइ देहव्यापारमा संलग्न गराउँदै आएको पनि सो अखबारले खुलासा गरेको छ ।

मानव तस्करीको आरोपमा गिरफ्तार गरिएकाहरुमा जोन खड्का, पूर्णिमा, नीरा र हरिश रहेका छन् । खड्काको साथबाट प्रहरीले ६ नेपाली युवतीको राहदानी र एउटा ल्यापटप बरामद भएको जनाएको छ ।

त्यसैगरी पूर्णिमाको साथबाट चार नेपाली युवतीको राहदानी बरामद भएको जनाइएको छ ।

क्राइम ब्रान्चका अधिकारी रवीन्द्र यादवलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएअनुसार अल इन्डिया नेपाली फोरम नामक गैरसरकारी संस्थाको सहयोगमा तीन युवतीलाई उद्धार गर्नुका साथै मानव तस्करी धन्दामा संलग्न चारजनालाई पक्राउ गरिएको हो ।

उद्धार गरिएका युवतीहरुले आफूलाई तीर्थराज नाम गरेका एक नेपालीले नै न्यूजिल्याण्ड लगायतका मुलुकमा रोजगारी लगाइदिने भन्दै दिल्ली पठाएको बयान प्रहरी समक्ष दिएका छन् । दिल्ली आएपछि आफूहरुलाई जोनले जिम्मा लिएको र सागरपुरस्थित घरमा बन्धक बनाएर देहव्यापारमा बाध्य पारिएको उनीहरुले जनाएका छन् ।