Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


जनकपुरको राजदेवी मन्दिरमा ‘यसकारण’ महिलालाई प्रवेश निषेध


0
Shares

धनुषा, असोज १८ । जनकपुरमा नौरथाको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागेपनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा कायमै छ ।

सो अवधिमा महिलाका लागि मन्दिरको एक झ्याल खुल्ला गरिएको हुन्छ, त्यही झ्यालबाट पूजा–अर्चना गरेर फर्किनुपर्छ ।

त्रेतायुगमा राजा जनकको कुलदेवीकारुपमा पुजिँदै आएकी राजदेवीको मन्दिरमा परापूर्वकालमा पूजा गर्न एक महिला मन्दिरको भित्री भागमा प्रवेश गरेको र उनी बेपत्ता भएको जनविश्वास रहेकाले सो मन्दिरभित्र महिलाको प्रवेशमा रोक लगाइएको मन्दिरका पुजारी राम गिरीको भनाइ छ ।

त्यस्तै, रजस्वला भएका महिला पनि पूजाका लागि आउने गरेकाले पनि मन्दिरमा महिलाको प्रवेशमा रोक लगाइएको हो ।

तान्त्रिक विधिमा पूजा हुने भएकाले पनि महिलालाई मन्दिरमा प्रवेश गर्न रोक लगाइएको हुनसक्ने केहीको अनुमान छ ।

परम्परा छाडेर अहिलेसम्म कुनैपनि महिलाले सो अवधिभर भित्र पस्ने आँट नगरेको स्पस्ट पार्दै महन्थ गिरी भन्छन्–‘वि.सं. २०२० तिर नरेशानन्द गिरी नामका महन्थले यहाँको बलिप्रथा रोकेर बलि नचढाउँदा उनलाई अनिष्ट भएकाले पछि क्षमापूजा गरी बलि चढाइएको थियो ।’

घटस्थापनादेखि नवमीसम्म मन्दिरमा महिलाको प्रवेशमा रोक लगाउनुलाई अधिकारकर्मी विनोद रविदास धर्मको नाममा धार्मिक अन्धविश्वासको एउटा पराकाष्ठा मान्छन् ।

यसको विरोधमा जनकपुरवासीले महिलामाथिको यस्तो विभेद र छुवाछूतको अन्त्य गर्नुपर्ने जोडदार माग गर्दै आएका छन् । रासस