
काठमाडौं, असोज १८ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका आवासीय चिकित्सकहरुले आकस्मिक र शल्यक्रिया बाहेकका काम गर्न छाडेका छन् ।
मेडिकल शिक्षामा देखिएका विकृति हटाउन माग गर्दै ९ औं आमरण अनशनमा बसेका प्रा. डा. गोविन्द केसीको समर्थन गर्दै अस्पतालका तीन सय आवासीय चिकित्सकले आकस्मिक र शल्यक्रिया बाहेकका पठनपाठनमा काम गर्न छाडेका हुन् ।
डा. केसीका माग सम्बोधन गर्न सरकारले पहल नगरेको भन्दै आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । यसैबीच नौ दिनदेखि आमरण अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था भने बिग्रँदै गएको छ ।
रगतमा अक्सिजनको मात्रा कमी, मांसपेशी बाउँडिने, छाती दुख्ने, रिंगटा लाग्ने समस्या देखिएको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
डा. केसीको मुटुको चाल कम हुने समस्या देखिएपछि भेन्टिलेटर र डिसिसक मेसिन तयारी अवस्थामा राखिएको चिकित्सकहरुले बताएका छन् । डा. केसी भने सरकारले आफूसँग गरेको सम्झैता कार्यान्वयन नगरेसम्म अनशन नतोड्ने अडानमा छन् ।
प्रतिक्रिया दिनुहोस्