Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


दिल्लीमा १९५० को सन्धि संशोधन गर्न नेपाली पक्षको प्रस्ताव


0
Shares

काठमाडौं, असोज १९ । नेपाल र भारतका प्रबुद्ध समूहको बैठकमा नेपालले औपचारिक रुपमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधनको प्रस्ताव गरेको छ ।

भारतको नयाँदिल्लीमा मंगलबार सुरु भएको प्रबुद्ध समूहको बैठकमा नेपाली समूहका संयोजक भेषबहादुर थापाले सन् १९५० को सन्धि संशोधनको प्रस्ताव गरेका हुन् । नेपाली पक्षले राखेको प्रस्तावमाथि मंगलबारबाट छलफल सुरु भएको छ ।

नेपाली पक्षको मागअनुसार १९५० को सन्धि संशोधनको विषय प्रबुद्ध समूहको पहिलो एजेन्डा भएको छ । समूहको सिफारिसका आधारमा दुई मुलुकबीच वार्ता हुने छ ।

सन् १९५० को सन्धिमा उल्लेख गरिएका प्रावधानमध्ये नेपालले तेस्रो मुलुकबाट सैन्य सामाग्रि आयात गर्दा भारतीय पक्षको अनुमति लिनुपर्ने, प्राकृतिक स्रोत साधनमा भारतलाई पहिलो प्राथमिकता दिनुपर्नेलगायतका विषयमा संशोधन गर्नुपर्ने प्रस्ताव गरेको बताइएको छ ।

दुवै देशका नागरिकलाई सम्पत्ति किनबेचमा बराबर हैसियतमा राख्ने प्रावधान पनि नेपालले हटाउन खोजेको छ ।

समूहको बैठक आज पनि बस्ने छ । त्यसपछि अर्को बैठक काठमाडौंमा हुने छ । काठमाडौंमा तेस्रो बैठक हुनुअघि दुवै पक्षका प्रस्तावबारे आ–आफ्ना ढंगले तयारी र छलफल हुने छन् । समूहको पहिलो बैठक काठमाडौंमा भएको थियो ।