१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


न्यूनचापीय प्रभावले बदलीसँगै वर्षा


0
Shares

                                                             फाइल फोटो
काठमाडौं, असोज १९ । न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसम बदली भइ विभिन्न स्थानमा वर्षा भएको छ ।

मंगलबार रातिदेखि विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावले देशमा मध्य र पूर्वी भेगमा बढी असर देखिएको मौसमविद् समीर श्रेष्ठले राससलाई जानकारी दिए ।

‘न्यूनचापीय प्रणाली अहिले मध्ये भेगमा केन्द्रित छ, हिजो पूर्वका धेरै स्थानमा पानी परेको थियो, आज दिउँसो मध्य भेगमा पानीपर्ने सम्भावना छ, तुलनात्मकरुपमा पश्चिममा कम असर देखिएको छ’–उनले भने ।

मनसुन हटिनसकेको र यसको प्रभावले पनि वर्षात् भएको मौसमविद् श्रेष्ठको भनाइ छ ।

उनकाअनुसार स्थानीय वायुको प्रभाव र जलवास्पयुक्त हावा पर्याप्त रहेकाले यो प्रणाली केही दिन जारी रहनेछ ।

मनसुन सकिने अन्तिम समय भएपनि यो वर्ष ढिलो गरी मनसुन सुरु भएकाले वर्षा लम्बिएको बताइन्छ ।

सामान्यतः नेपालमा जुन १० बाट मनसुन सुरु भइ सेप्टेम्बर २३ मा हट्छ । तर, यो वर्ष केही ढिला गरी मनसुन सुरु भएको थियो ।

बुधबार काठमाडौं उपत्यकासहित मध्य भेगका अधिकांश स्थानमा पानीपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौंमा २, ओखलढुंगामा ३ र ताप्लेजुङमा ४५ मिलिमिटर वर्षात् भएको छ ।

महाशाखाकाअनुसार बुधबार मध्य भेगमा पानीपर्ने ६० प्रतिशत सम्भावना छ भने अधिकतम् तापक्रम ३० डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । रासस