१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


दसैं मनाउन १० लाख उपत्यकाबाट बाहिरिए, सवारी पाउन नसकिएको गुनासो


0
Shares

काठमाडौं, असोज १९ । दसैंको मुख्यदिन नजिकिँदै जाँदा विभिन्न पेसा र व्यवसायमा संलग्न भइ उपत्यकामा बसोबास गर्ने मानिस बाहिरिनेक्रम बढेको छ ।

असोज १५ गते घटस्थापनापछि १० हजारभन्दा बढी सवारी–साधनमा १० लाख यात्रु उपत्यकाका पाँचओटा नाकाबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक लोकेन्द्र मल्लले राससलाई जानकारी दिए ।

‘थानकोट, ककनी, साँखु, फर्पिङ, साँगा गरी पाँचओटा नाकाबाट दैनिक बाहिरिनेको संख्या बढेको छ, यात्रुबाहक सवारी, जिपलगायत ठूला सवारी नै १० हजार नाघेका छन्, यसमा मोटरसाइकलको अभिलेख छैन’–उनले भने ।

उपत्यका बाहिरिने यात्रुले भने सहजरुपमा सवारी पाउन नसकेको गुनासो गरेका छन् ।

दाङ जाने टिकटका लागि पटक–पटक प्रयास गर्दापनि नपाएपछि यस वर्ष दसैंमा घर जान पाउने/नपाउने टुंगो नलागेको यात्रु श्याम घिमिरेको गुनासो छ ।

सरकारले उपत्यकामा निजामती कर्मचारी, निजी विद्यालयका विद्यार्थी बोक्ने सवारीलाई पनि दसैंमा उपत्यकाबाहिर पठाउने तयारी गरेकामा आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको बैठकमा यातायात व्यवसायीले ग्यारेजमा थन्किएका सवारी सन्चालन गर्ने सहमति जनाएपनि सवारी पाउन नसकिएको यात्रुको गुनासो छ ।

यातायात व्यवसायीले अरु सवारी चलाउन पनि नदिने आफ्ना सवारी पनि नचलाएर दुःख दिने गरेको यात्रु घिमिरेको भनाइ छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भने सडक जीर्ण भएर सवारी जाममा परेकाले यात्रुले दुःख पाएको बताउँछन् । रासस