काठमाडौं, असोज १९ । उद्योग मन्त्रालयले विदेशी लगानीसम्बन्धी कानुनको संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सरोकारवाला निकायहरुसँग छलफल गरेको छ ।
बुधबार राजधानीमा भएको कार्यक्रममा विधेयकमा स्वदेशी लगानीकर्तालाईभन्दा बढी विदेशी लगानीकर्तालाई सुविधा दिन खोजिएको भन्दै निजी क्षेत्रले विरोध जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले औद्योगिक व्यवसाय ऐनले तोकेकोबाहेकको सुविधा विदेशी लगानीकर्तालाई दिन खोजिएको बताए ।
उनले लगानीकर्तालाई सुविधा दिनुपर्ने तर स्वदेशी लगानीकर्तालाईभन्दा बढी विदेशी लगानीकर्तालाई सुविधा दिन नहुने बताए ।
विधेयकमा ‘औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानुनमा भएको छुट, सुविधा, सहुलियत वा संरक्षणको अतिरिक्त विदेशी लगानीमा स्थापित उद्योगले यस ऐनबमोजिम थप छुट, सुविधा, सहुलियत वा संरक्षण पाउने छ’ भन्ने व्यवस्था गरिएको छ ।
यसको स्वदेशी लगानीकर्ताले विरोध जनाएका हुन् ।
निजी क्षेत्रले कम्पनी दर्ता प्रक्रिया सरल बनाउन र बोर्डमार्फत् नभइ विभागबाटै दर्तासम्बन्धी व्यवस्था हुनुपर्नेमा पनि जोड दिएको छ ।









प्रतिक्रिया दिनुहोस्