
काठमाडौं, असोज २० । प्रधानमन्त्री पुष्पकमल दाहालले झापाको दमकदेखि इलाम, पाँचथर, ताप्लेजुङ हुँदै चीन जोड्ने सडक (फाल्गुनन्द मार्ग) छिट्टै निर्माण सक्न विशेष पहल गर्ने बताएका छन् ।
बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा सो सडक निर्माणका लागि सरोकार राख्ने राजनीतिक दलका नेता, फाल्गुनन्द मार्ग निर्माण उपभोक्ता समितिका पदाधिकारी, व्यवसायीसहितको सर्वपक्षीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले यस्ता बताएका हुन् । उक्त सडक निर्माणपछि छोटो दुरीमै चीनको सिमानासम्म पुग्न सकिने तथा चारवटै जिल्लाका पश्चिमी भेगका जनतालाई धेरै सहजता र सुविधा उपलब्ध हुने भएकाले आफूले छिट्टै निर्माण कार्य सक्न आवश्यक पहल गर्ने उनले बताए ।
प्रधानमन्त्री दाहालले उक्त सडकलाई थप बजेट उपलब्ध गराउने तथा छुट्टै आयोजनामा पार्न योजना आयोगमा छलफल गर्ने पनि जनाए ।
उपभोक्ता समितिका अध्यक्ष गगन पुरीसहित सामान्य प्रशासन मन्त्री केशव बुढाथोकी, पूर्वमन्त्री अग्नि खरेल, टंक आङ्बुहाङलगायतले प्रधानमन्त्री दाहाललाई भेटी ज्ञापनपत्र बुझाएको छ ।
प्रतिक्रिया दिनुहोस्