
काठमाडौं, असोज २० । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले सरकारले निर्वाचनको तयारी गरिरहेकाले त्यसैअनुरुपको शान्ति सुरक्षाको व्यवस्था गर्न प्रहरी संगठनलाई निर्देशन दिएका छन् ।
६१ औं प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालय, नक्सालमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री निधिले संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको र त्यसको तयारी सरकारले गरिरहेको बताए ।
उनले तीन तहको निर्वाचनका लागि सुरक्षाको वातावरण तयार पार्न निर्देशन दिए ।
गृहमन्त्री निधिले आफ्नो कर्तव्य र दायित्व निर्वाहमा इमान्दारीपूर्वक अघि बढ्न प्रहरी संगठनलाई निर्देशन दिए । सरकारले निर्वाचनका लागि सहमतिको वातावरण तयार गरिरहेको उनको भनाइ थियो ।
गृहमन्त्री निधिले अमर प्रहरीका परिवारलाई शिक्षा र रोजगारी दिन सरकार तयार रहेको बताए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले राज्यको दायित्व पूरा गर्न प्रहरी संगठन सधैं प्रतिबद्ध रहेको बताए ।
उनले प्रहरीको सक्रियताका कारण विगत २ वर्षदेखि मुलुकमा अपराधका घटना क्रमशः न्यून हुँदै गएको दाबी गरे ।
शान्ति सुरक्षा कायम राख्न प्रहरी संगठनलाई समयानुकूल परिवर्तन गर्दै लैजानुपर्ने भएकाले त्यसमा सहयोग गर्न सरकारलाई आग्रह गरे ।
कार्यक्रममा अमर प्रहरीका आश्रित परिवारलाई कदरपत्र प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्