१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


विश्वकप छनोट : स्पेन र ईटालीको बराबरी, जापान र कोरियाको जित


0
Shares

काठमाडौं, असोज २१ । विश्वकप फुटबल छनोटअन्तर्गत गएराति भएको खेलमा ईटाली र स्पेनले १–१ गोलको बराबरी खेलेका छन् ।

ईटालीको टुरिनमा भएको खेलमा स्पेनका भिटोलोले ५५ औं मिनेटमा पहिलो गोल गरे । ८२ औं मिनेटमा पाएको पेनाल्टीलाई ड्यानिएल डे रोसीले गोलमा परिणत गरेपछि ईटालीले खेलमा बराबरी गरेको हो ।

यही समुहका अन्य खेलमा ईजरेलले मेसेडोनियालाई २–१ ले तथा अल्बानियाले लाईचेस्टेनलाई २–० ले हराएका छन् ।

विश्वकप फुटबल छनोटअन्तर्गत युरोपेली समुह ‘आई’ को खेलमा क्रोएसियाले कोसोभोलाई ६–० ले हराएको छ । फिफाको कान्छो सदस्य राष्ट्र कोसोभोविरुद्ध आधा दर्जन गोल बर्साउने क्रममा क्रोएसियाका मारियो मान्डुकिचले ह्याट्रिक गरे भने माटेया मित्रोभिच, इभाँ पेरिसीच र निकोला कालिनिचले एक–एक गोल थपे ।

यही समुहका अन्य खेलहरुमा आईसल्याण्डले फिनल्याण्डलाई ३–२ ले हराउँदा युक्रेन र टर्कीले २–२ गोलको बराबरी खेलेका छन् ।

विश्वकप फुटबल छनोटअन्तर्गत एसियाली समुहका खेलमा जापान र दक्षिण कोरिया विजयी भएका छन् । समुह ‘ए’ को खेलमा दक्षिण कोरियाले कतारलाई ३–२ ले हरायो । जापानले इराकलाई २–१ ले हरायो ।

यही समुहका अन्य खेलमा सिरियाले चीनलाई तथा ईरानले उज्वेकिस्तानलाई १–० ले हराए । त्यसैगरी साउदी अरेबिया र अष्ट्रेलियाले २–२ गोलको बराबरी खेल्दा युएइले थाईल्याण्डलाई ३–१ ले पराजित गरेको छ ।

त्यसैगरी दक्षिण अमेरिकी समुहको खेलमा उरुग्वे र ईक्वेडर विजयी भएका छन् । ईक्वेडरमा भएको खेलमा घरेलु टोलीले चिलीलाई ३–० ले हरायो । खेलमा ईक्वेडरलाई विजयी गराउन भ्यालेन्सिया, रामिरेज र काईसेडोले एक–एक गोल गरे । दक्षिण अमेरिकी समूहकै अर्को खेलमा उरुग्वेले भेनेजुएलालाई उसैको मैदानमा ३–० ले पाखा लगायो । उरुग्वेका लागि काभानीले दुई गोल गरे भने लोदेरीयोले एक गोल गरे ।

जितसँगै उरुग्वेले दक्षिण अमेरिकी समुहको विश्वकप छनोट अंक तालिकामा अग्रता लिएको छ । ९ खेलबाट उसको १९ अंक भएको छ ।

विश्वकप छनोट कै अर्को खेलमा पाराग्वेलाई कोलम्बियाले १–० ले हराएको छ । पाराग्वेको मैदानमा भएको खेलमा पाहुना टोली कोलम्बियालाई विजयी गराउन कार्डोनाले ९० औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।