१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


ब्राजिलको शानदार जित, मेसीबिनाको अर्जेन्टिनाले पेरुसँग अंक बाँड्यो


0
Shares

काठमाडौं, असोज २१ । विश्वकप फुटबल छनोटअन्तर्गत् दक्षिण अमेरिकी समूहको खेलमा ब्राजिल, उरुग्वे र इक्वेडर विजयी भएका छन् ।

आफ्नै मैदानमा सम्पन्न खेलमा ब्राजिलले बोलिभियालाई ५–० ले हरायो । ब्राजिलका लागि नेइमार, कौटिन्हो, लुइस, जिसस र फर्मिन्होले एक–एक गोल गरे ।

यसैगरी, दक्षिण अमेरिकी समूहकै अर्को खेलमा पेरुले अर्जेन्टिनालाई २–२ गोलको बराबरीमा रोकेको छ ।

लिओनल मेसीबिना मैदानमा उत्रिएको अर्जेन्टिनाले दुईपटक अग्रता लिएर पनि बराबरीमै चित्त बुझाएको हो ।

उता, इक्वेडरमा भएको खेलमा घरेलु टोलीले चिलीलाई ३–० ले हरायो ।

खेलमा इक्वेडरलाई विजयी गराउन भ्यालेन्सिया, रामिरेज र काइसेडोले एक–एक गोल गरे ।

दक्षिण अमेरिकी समूहकै अर्को खेलमा उरुग्वेले भेनेजुएलालाई उसैको मैदानमा ३–० ले पाखा लगायो ।

उरुग्वेका लागि काभानीले दुई गोल गरे भने लोदेरियोले एक गोल गरे । जितसँगै उरुग्वेले दक्षिण अमेरिकी समूहको विश्वकप छनोट अंकतालिकामा अग्रता लिएको छ । ९ खेलबाट उसको १९ अंक भएको छ ।

विश्वकप छनोटकै अर्को खेलमा पाराग्वेलाई कोलम्बियाले १–० ले हराएको छ ।

पाराग्वेको मैदानमा भएको खेलमा पाहुना टोली कोलम्बियालाई विजयी गराउन कार्डोनाले ९०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।