
काठमाडौं, असोज २१ । काठमाडौंको हनुमानढोकास्थित तलेजु भवानी मन्दिरका पूजारीहरुले त्यहाँका पूजारीहरुको पनि वर्गीकरण गर्नुपर्ने माग राखेका छन् ।
शुक्रबार हामीसँग कुरा गर्दै तलेजु मन्दिरका पूजारी उद्धव कर्माचार्यले राष्ट्रिय महत्वको मन्दिरका पूजारीहरुलाई सरकारले बेवास्ता गरेको गुनासो गरे ।
उनले पूजारीहरुलाई उचित प्रतिष्ठा र समय सुहाउँदो पारिश्रमिक दिनुपर्ने माग गरे ।
तलेजु मन्दिरमा १० जना पूजारीहरु र ३२ जना सहायक एवं रकमी गरी जम्मा ४२ जना कार्यरत् छन् ।
तलेजु भवानीको नियमित पूजापाठमा संलग्न पूजारीहरुमध्ये मूल पूजारीले मासिक १५ सय रुपैयाँ र अरु पूजारीले मासिक सात सयदेखि ९ सय रुपैयाँसम्म पारिश्रमिक पाउने गर्दछन् ।
तर, सहायक र रकमीलाई भने मासिक दुई हजार रुपैयाँ पारिश्रमिक दिने गरिएको छ ।
तलेजू मन्दिरका पूजारीहरुकाअनुसार तलेजु मन्दिरले वर्षभरि ९९ ओटा पर्व चलाउनुपर्छ । तीमध्ये २४ ओटा पर्व चाहिँ ठूला पर्वभित्र पर्छन् ।
तलेजु भवानीको मन्दिर बडादसैंको महानवमीको दिनमात्रै सर्वसाधारणका लागि खुला गर्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्