
गृष्मा राजभण्डारी/नवीन स्थापित (इमेज)
काठमाडौं, असोज २२ । बडादसैं अधिकतर नेपालीको मूख्य चाड । दसैं धार्मिक–सांस्कृतिक सन्दर्भसँगमात्र सम्बन्धित छैन, आमनेपालीबीचमा भ्रातृत्व र सम्बन्ध पुनर्ताजगीका लागि प्राचीन समयदेखि नै यो पर्व परिचित छ ।
यसका लागि सरकारले लामै बिदा दिने गरेको छ । तर, यही दसैं मनाउन राजधानी बाहिरिनेहरुले पाउने सास्ती भने बयान गरेर साध्य हुँदैन ।
दसैं परिवार, साथीभाइ, संगी, इस्टमित्रबीच सम्बन्ध अटूट बनाइराख्ने एउटा सेतू हो । यो चाड कुनै तिथि या क्यालेन्डरको सीमाभित्र कैद छैन । प्राचीन समयदेखि यो निरन्तर छ ।
शरद ऋतुमा आकाश खुलेसँगै अवर्णनीय उल्लास बोकेर आउने दसैंमा आफ्ना आफन्तलाई भेट गर्ने र पारिवारिक जमघट गर्न पुग्न सबैलाई चटारो हुन्छ नै । अवसरका लागि राजधानी ओहिरिएकाहरु योबेला भने कुनैपनि हालतमा आफ्नो जन्मस्थान पुग्न चाहन्छन् ।
तर, यहीबेला उनीहरुले सवारी साधन नपाएर व्यहोर्ने हैरानी र दुःखको बयान गरेर साध्य नै हुँदैन ।
राज्य व्यवस्थाको लाचारीमा टेकेर सिन्डिकेट लाद्न खोज्ने हुन् वा क्षणिक लाभका लागि जेसुकै गर्न पछि नपर्ने नाफाखोरहरु यही मौकाको ताकमा हुन्छन् । जुन गएका वर्षमाझैं यसपटक पनि टड्कारो देखियो ।
काठमाडौं बाहिरिने मूख्य नाकाहरुमा पुग्दा हामीले देखेका दृष्यले सरकारले राजधानीबाट बाहिरिने यात्रुका लागि यातायातको साधनमा कुनै कमी हुन नदिन जनाएको प्रतिबद्धता ओठेमात्र रहेछ भन्ने पुष्टि गर्यो ।
देशभित्रैका हुन् वा देश बाहिरबाट आएर परिवार र आफन्तजनसँग कहिले भेटौला भन्ने हुटहटी पालिरहेका हुन्, सबैले हामीसँग उस्तै कस्ट र सास्ती बयान गरे । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्