१६ श्रावण २०८२, शुक्रबार | Sat Aug 2 2025


त्रिशूलीमा बेपत्ता पूर्वगृहमन्त्री घिमिरेका भाइ मोहनको शव भेटियो, यसरी भयो ‘सनाखत’


0
Shares

चितवन, असोज २२ । त्रिशूली नदीमा जिपसँगै बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेका भाइ मोहन घिमिरेको शव शनिबार भेटिएको छ ।

गत असोज ९ गते अपराह्न चितवनको दारेचोक–३ स्थित घोप्टेभीरबाट त्रिशूली नदीमा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार जिप खसेको थियो ।

दुर्घटनालगत्तै पूर्वगृहमन्त्री घिमिरेसहित उनका भाइहरु मोहन र प्रकाश बेपत्ता भएका थिए ।

शनिबार बिहान माझीले तनहुँको देवघाट–४ स्थित त्रिशूली नदीछेउमा शव देखेपछि प्रहरीलाई खबर गरेको थिए ।

पर्समा रहेको परिचयपत्र र एटीएम कार्डबाट शव मोहन घिमिरेकै भएको शसस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका प्रहरी नायव उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए ।

उनको शव गलेको र गन्हाउने अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शव भेटिएको ठाउँ दुर्घटनास्थलभन्दा २० किलोमिटर चितवनतर्फ हो ।

दुर्घटनामा परी बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे र प्रकाश घिमिरेको अझै केही पत्ता लागेको छैन ।

दुर्घटनालगत्तै नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले खोजीकार्य जारी राखेको छ । तर, अझैपनि बेपत्ता घिमिरे दाजुभाइसँगै जिप पनि फेलापरेको छैन ।

पूर्वमन्त्री घिमिरे मुक्तिनाथको यात्राबाट सपरिवार काठमाडौं फर्कंदै गरेका थिए ।

सो दुर्घटनामा परी उनकी आमासहित तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने चालकको काठमाडौंमा उपचार भइरहेको छ ।