Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


दसैंमा देश छोड्नेको पीडा, भावुक बने अभिभावक (भिडियोसहित)


0
Shares

प्रतीक लामिछाने/दिलिप पोखरेल (इमेज)
काठमाडौं, असोज २२ । नेपालीहरुको महान् चाड विजयादशमी । विदेशिएका हुन् वा गाउँ छाडेर सहर भासिएका वर्षमा एकपटक आफ्नो गाउँघरलाई सम्झने तथा परिवारसँग समय बिताउने र रमाइलो गर्ने एउटा महत्वपूर्ण अवसर हो ।

तर, देशभित्र रोजगारी नपाएको भन्दै पराया मुलुक जानेलाई विगतमाझैं योपटक पनि दसैंले कुनै रौनक ल्याएको देखिएन ।

गोरखाबाट फूलपाती बोकेर एउटा टोली धादिङ हुँदै काठमाडौंतर्फ अघि बढेकाबेला गोरखाकी सुनमाया आले भतिजलाई विदेश पठाउन त्रिभुवन विमानस्थलमा पुगेकी थिइन् ।

अधिकांश नेपाली परिवारसँग बसेर मीठो खाने तथा रमाइलो गरिरहँदा आले भने विमानस्थलको प्रस्थान कक्षबाहिर आँसु पुछ्दै यताउती गरिरहेकी थिइन् ।

स्याङ्जाका मनोज खनालको अनुहारमा दसैंले कुनै खुसी ल्याएको देखिएन । अनिश्चित भविष्य बोकेर विदेशी मुलुकमा रोजगारीमा जाने तयारीमा रहेका खनाल देशका नीति–निर्मातालाई धिक्कारीरहेका थिए ।

स्वदेशमै पर्याप्त रोजगारीको अवसर भएका भए पोखरेलमात्रै होइन, विमानस्थलमा भेटिएका अन्य युवाहरु मलेसिया, साउदी अरेबिया, कतारलगायतका मुलुकमा रोजगारीका लागि होइन, परिवारकै बीचमा बसेर दसैं मनाइरहेका हुन्थे ।

दसैंका कारण काठमाडौं सुनसान बन्दै गर्दा शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा भने भीडभाड देखिन्थ्यो ।

दैनिक गुजारा नै चलाउनै धौ–धौ भएपछि दसैं, तिहार, हिलो, झरी, नभनी यसरी दैनिक सयौं युवा रोजगारीका लागि विदेशिने गरेका छन् ।

तर, युवाको पक्षमा बोलेर बोलेर कहिल्यै नथाक्ने सरकारले यी युवालाई स्वदेशमै रोक्नका लागि कुनै त्यस्तो प्रभावकारी काम गर्न सकेन र त चाडबाडकै मुखमा परिवारलाई रुवाएर र मनमरी पीडा बोकेर विदेशी भूमिमा जोखिमपूर्ण कामका लागि देश छाड्न उनीहरु बाध्य छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।