Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


बडादसैंः आज महाअष्टमी, महागौरीको पूजा–आराधना


0
Shares

                                                        फाइल फोटो

काठमाडौं, असोज २३ । आज नवरात्रको आठौं दिन अर्थात् महाअष्टमी । आज दुर्गा भवानीको आठौंस्वरुप महागौरीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

गणेशकोरुपमा स्थापना गरिएको कलशकोछेउमा ९ ओटा स–साना ढुंगालाई नवदेवीका प्रतीमाकारुपमा स्थापित नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

घटस्थापनाको दिन वैदिक परम्पराअनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाउँमा विधिपूर्वक पूजा–अर्चना गरिने भएकाले यसदिन शक्तिपीठ, दसैंघर अनि मन्दिरमा विशेष घुइँचो रहन्छ ।

आजैको मध्यरात अर्थात् नवमीको सुरुआतमा देवीहरुको विशेष पूजा–अनुष्ठान गरिन्छ ।

नवरात्रिभर माता दुर्गाका ९ रुप शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघन्टा, कुष्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा–अर्चना गरिन्छ ।

यसदिन भद्रकालीको पनि विशेष पूजा–अर्चना गरिन्छ । शक्तिकी महास्वरुपा महागौरी र भद्रकालीस्वरुपको अनुष्ठान गरिसकेपछि बलि दिने चलन पनि छ ।

बलिमा बोका, कुखुरा, हाँस आदि चढाउने चलन छ भने शाकाहारी र बलि दिन नचाहनेहरुले कुभिन्डो, घिरौला आदि बलि दिन्छन् ।

यसदिन हनुमानढोकास्थित तलेजु भवानी मन्दिरको दसैं घरमा ५४ ओटा राँगा र ५४ ओटा बोकाको बलि दिने परम्परा पनि छ ।

काठमाडौ उपत्यका वरिपरिका शक्तिपीठहरु दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराहीलगायतका मन्दिरमा पूजा–आराधना गरी बलि चढाउनेको घुइँचो हुन्छ ।

त्यसैगरी, सप्तरीको भारदहस्थित कंकालिनी देवी, छिन्नमस्ता मन्दिर, बाराको बरीयारपुरमा रहेको गढीमाई मन्दिर, पर्सा जिल्लाको वीरगन्जस्थित विर्तामाई, गहवामाई, केहुनियास्थित विन्दवासिनीमाइ, अर्घाखाँची जिल्लाको सुपादेउराली मन्दिर, मोरङ जिल्लाको विराटनगरमा रहेको कालीमन्दिर, अछाम जिल्लाको मार्कुमा रहेको सान्नीकोट मन्दिरलगायतका देशभरका शक्तिपीठहरुमा पनि हजारौंको संख्यामा खसीबोका, राँगा, हाँस र कुखुराको बलि चढाइन्छ ।

काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चन्डेश्वरी, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारालगायतका मन्दिरमा पनि शक्तिरूपा भगवतीको पूजा–अर्चना गर्दै दुर्गा सप्तशती र देवीस्तोत्र पाठ पनि गरिन्छ ।