
अपडेट
काठमाडौं, असोज २४ । हङकङमा जारी आइसीसी महिला विश्वकप क्रिकेट एसियाली छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपाल थाइल्यान्डसँग ३ विकेटले पराजित भएको छ ।
सोमबार बिहान भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा २० ओभर खेल्दै ८ विकेट गुमाएर ७६ रन जोडेको थियो ।
नेपालका सुरुआती खेलाडी सीता रानामगर ० रनमा आउट हुँदा ज्योती पाण्डे पनि २ रन जोडेर पभेलियन फर्किइन् ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी निर्मालाकुमारी शाहीले इनिङ्स सम्हाल्ने प्रयास गर्दै सर्वाधिक ३६ रन जोडिन् ।
निर्मालाबाहेक अरु कुनैपनि नेपाली खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । नेपालका चार खेलाडी ‘रनआउट’ भए ।
७७ रनको विजयी लक्ष्य थाइल्यान्डले अन्तिम ८ बल खेल्न बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्यो ।
थाइल्यान्डको जितमा छनिदा स्थिरुङले अविजित सर्वाधिक २३ रनको योगदान दिइन् । ओपनर नट्टाकान छन्तामले १३ रन जोडिन् । थाइल्यान्डका ६ खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
नेपालले कसिलो बलिङ गरेपनि लक्ष्य सामान्य हुँदा हार ब्यहोर्नुपरेको हो । नेपालकी अलराउन्डर निर्मलाकुमारी शाहीले ४ ओभर बलिङ गरेर मात्र ७ रन दिँदै ३ विकेट लिइन् भने सरिता मगरले २ विकेट झारिन् ।
प्रतियोगिताको पहिलो खेलमा आइतबार हङकङसँग हारेको नेपाल दोस्रो खेल गुमाएसँग अर्को चरणको छनोटमा पुग्ने सम्भावना निकै कमजोर बनेको छ । थाइल्यान्डले भने पहिलो खेलमा आइतबार चीनलाई ७५ रनले हराएको थियो ।
चार टोली सहभागी एसियाली क्षेत्रको छनोटमा नेपालले आयोजक हङकङसँगै चीन र थाइल्यान्डसँग २/२ खेल खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्