
कन्चनपुर, असोज २४ । कन्चनपुरमा दसैंकाबेला २४ घन्टाका लागि मदिरा बिक्री–वितरण र सेवनमा रोक लगाइएको छ ।
मदिरा नियन्त्रण समिति कन्चनपुरले आयोजना गरेको सर्वपक्षीय बैठकमा दसैंकाबेला २४ घन्टाका लागि मदिरा बिक्री–वितरणमा रोक लगाउने निर्णय गरिएको हो ।
‘चाडपर्वका बेला मदिरा बिक्री–वितरण र सेवनले समाजमा अशान्ति मच्चाउने, झै–झगडा हुने, दुर्घटना निम्तिने र महिलामाथि हिंसालगायतका घटना हुने भएकाले अवाञ्छित क्रियाकलाप न्यूनीकरणका लागि रोक लगाउने निर्णय गरेका छौं’–मदिरा नियन्त्रण समिति कन्चनपुरका अध्यक्ष भगवती थापाले भनिन् ।
मदिरा बिक्री–वितरण र सेवनमा रोक लगाउनका लागि प्रहरीका सबै एकाइमा पत्राचार गरिएको उनले बताइन् ।
रोक लगाइएकाबेला मदिरा बिक्री–वितरण र सेवन गरेको पाइए हदैसम्मको कारबाही हुने बताइएको छ ।
दुईजना कैदी रिहा
यसैबीच, कन्चनपुर कारागारबाट आइतबार बिहान दसैंका अवसरमा असल चालचलन भएका दुईजना कैदी रिहा भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा दसैंको अवसरमा असल चालचलन भएका कैदीको बाँकी कैद मिनाहा गर्ने निर्णयअनुरुप कैदी रिहा भएका हुन् ।
४० प्रतिशत कैद भुक्तान गरेका ज्यान मुद्दामा सजाय काट्दै आएका दार्चुलाका डम्बरसिंह महरा सोही मुद्दामा सजाय काट्दै आएका शैलेन्द्र महताको बाँकी कैद मिनाहा भइ रिहा भएको कारागारका जेलर श्यामराज भट्टले बताए ।
‘असल चालचलन भएका आधादर्जन कैदीको कैद मिनाहाका लागि केन्द्रीय कार्यालयमा सिफारिस गरी पठाएकामा दुईजनाकोमात्रै कैद मिनाहा भएको छ’–उनले भने ।
शव फेला
यसैबीच, नदीमा डुबेका कन्चनपुरको देखतभूली–९ का २८ वर्षीय रामचन्द्र पन्तको शव प्रहरीले आइतबार फेलापारेको छ ।
इलाका प्रहरी कार्यालयका कृष्णपुरकाअनुसार शनिबार गोरु चराएर फर्कंदा वनहरा नदी तर्नेक्रममा पन्त डुबेर बेपत्ता भएका थिए ।
पन्तको शव डुबेको स्थानभन्दा केही पर नदी किनारामा आइतबार दिउँसो फेलापरेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्