
फाइल फोटो
बैतडी, असोज २४ । बैतडीको देहीमाडौं निंगलाशैनी भगवती मन्दिर र मेलौलीमा रहेको मेलौली भगवती मन्दिरमा गरी आइतबार दसैंको महाअष्टमीका दिन ८०० भन्दा बढी राँगा तथा बोकाको बलि दिइएको छ ।
३८२ राँगा र ४३२ बोका गरी ८१४ राँगा–बोकाको बलि दिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यस्तै, महानवमीका दिन सोमबार पाटनमा रहेको उदयदेव मन्दिर र तल्लादेहीमा रहेको डिलाशैनी मन्दिरमा पनि राँगा–बोकाको बलि दिइने स्थानीय लोकेश साउदले राससलाई जानकारी दिए ।
दार्चुलाको धुलीगडामा रहेको दुर्गाभवानी मन्दिरमा राँगाको बलि नदिने र बोकाको बलिमात्र दिने गरेकाले आइतबार करिब १५ बोकाको बलि दिइएको त्यहाँबाट दलजितसिंह धामीले जानकारी दिए ।
महाष्टमीको अवसरमा सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा बलि दिइने गरिन्छ । रासस
प्रतिक्रिया दिनुहोस्