१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल शनिबार भारत जाने


0
Shares

काठमाडौं, असोज २८ । भारतको गोवामा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लागेका हुन् ।

ब्रिक्स सम्मेलनमा भाग लिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत पुगिसकेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि बंगलादेशको भ्रमण सकेर भारत जाँदैछन् ।

यसपटकको शिखर सम्मेलनमा आयोजक राष्ट्र भारतले बिमस्टेक राष्ट्रहरु मध्ये नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका नरेश छिरिङ तोब्गे, म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुथ चान ओचालाई पनि निम्ता दिएको छ ।

त्यस्तै गैह्रबिमस्टेकका अन्य मित्रराष्ट्र प्रमुख अफगानिस्तानका राष्ट्रपति असरफ घानी र मादिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिनलाई पनि निमन्त्रणा गरिएको छ ।

ब्राजिल (बि), रुस (आर), भारत (आई), चीन (सि) र दक्षिण अफ्रिका (एस) गरी पाँच राष्ट्रहरु मिलेर अन्तर्राष्ट्रिय सम्बन्ध र आपसी सहयोग अभिवृद्धि गर्ने उद्देश्यले सन् २००९ मा ‘ब्रिक्स राष्ट्र’ नामक फोरम बनेको हो ।

यसको शिखर सम्मेलनमा सबै ब्रिक्स सदस्य राष्ट्रका प्रमुख एवं सरकार प्रमुखहरुले भाग लिने प्रचलन छ ।

यस वर्षको आठौं शिखर सम्मेलन गोवामा अक्टोबर १५ देखि १६ सम्म दुई दिन चल्नेछ । सम्मेलन भारतले आतिथ्य गर्दैछ ।

सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री दाहालले विभिन्न देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।